फलोअफ: बहराइनको जेलमा सजाय काटिरहेका दिलिपलाई घर फिर्तीको पहल

0

बैदेशिक रोजगारको सिलसिलामा बहराइनमा जेल सजाय भोगिरहेका बेनी नगरपालिका–३ भकिम्ली खाराका दिलिप परियारलाई नेपाल फर्काउन पहल सुरू भएको छ । सातबर्ष अगाडी बहराइनमा पुगेका परियारलाई विदेशी यूवतीलाई कुटपिट गरेको अभियोगमा आश्री जेलमा १५ बर्षे सजाय भोगिरहेका परियारलाई घर फिर्तीको पहल स्वरुप कानुनी प्रक्रियामा श्रम मन्त्रालयमा पुगेर पहल गरिएको हो ।

बेनीअनलाइनले ‘अर्काको दोषमा सजाय भोग्दै’ भन्ने समाचार प्रकाशित गरेपछि बेनपा–३ का वडा अध्यक्ष पदम पुनले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पारिवारिक समस्या तथा परियारको बाँकी जेल सजाय मिनाह गदैं नेपाल फिर्तीका लागि पहल गर्न अनुरोध सहितको पत्र दिलिपकी श्रीमति मनकुमारी र आफन्त अनिता दर्जी, काठमाण्डौमा भकिम्ली–बरंजा माइती कुटुम्ब समाज काठमाण्डौका अध्यक्ष कमल पुनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका स्वकिय सचिव रमेश काउचा मगरलाई बुझाएका छन्।

‘श्रममन्त्रीलाई समेत घटनाका बारेमा जानकारी भइसकेको छ,‘उहाँले तत्काल प्रक्रियाका लागि दुतावासलाई खवर गर्ने बताइसक्नुभएको छ’ स्वकीय सचिवलाई उद्धित गदैं कमल पुनले बेनीअनलाइनलाई भने । उनका अनुसार पटकपटक फलोअफ गरिने बताए ।

जेल परेको जानकारी पाएपनि समाचारबाट प्रष्ट भएपछि वडा कार्यालयले भोलीपल्टै कानुनी प्रक्रियाका बारेमा खोजी गरेको थियो । बहराइनमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी उद्धार समिति बहराइनले समेत दुतावासमा पटकपटक पहल गरेको थियो ।उद्धार समितिलाई दुतावासले कागजी प्रक्रियाका बारेमा जानकारी गराए अनुसार नै मन्त्रालयसम्म कागजी प्रक्रिया पुगेको छ ।

कम्पनीबाट कोठामा फर्किने बेलामा आफुँसंगै रहेको एक इन्डोनिसियाकी एक यूवतीलाई उनका पूर्वप्रेमीले कुटपिट गरेर फरार भएपछि बहराइनको भाषा नबुझ्दा बिनाकारण जेल सजाय भोग्नुपरेको परियारको भनाई छ ।घाईते अवस्थामा उद्धार गरिएकी यूवती २० दिन अस्पतालमा उपचार गरी घर फर्किएपनि विना आधारमा भाषाको ज्ञान नहुदाँ अदालतबाट १५ बर्षको सजाय तोकिएको परियारले बताए । परियार जेलमा परेसंगै छोराछोरी, आमाबुबा र श्रीमतिलाई हातमुख जोड्न समेत मुस्किल छ ।