घनश्याम खड्का

म्याग्दी — श्रीमान् याम केसी अस्ट्रेलिया हिँडेपछि धौलागिरि गाउँपालिका ७ की २९ वर्षीया शीला भण्डारीले छोरी र सासूससुराको रेखदेख मात्र गरिनन्, खेतबारी र वस्तुभाउसमेत सम्हालेर राखिन् । विदेश पुगेका श्रीमान् घर फर्केनन्, उल्टै अविश्वास गरे ।लोग्नेको साथ नपाउने मनले ठम्याएपछि शीलाले अंश दाबी नगरी अदालतमा सम्बन्धविच्छेदका लागि फिराद गरिन् ।

अदालतले चाहेका बेला छोरी एञ्जललाई भेट्न पाउनेगरी सम्बन्धविच्छेद गरिदियो ।रघुगंगा गाउँपालिका ८, कुइनेमंगलेकी ३२ वर्षीया मीना छन्त्यालले फ्रान्समा रहेका श्रीमान् उत्तमले विवाह गरी ल्याएपछि निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेकाले अंश नलिई दुई छोरा बाबुले हेर्नेगरी सम्बन्धविच्छेदका लागि अदालतमा फिराद गरिन् ।

अदालतमा प्रतिवादीका तर्फबाट ससुरा ललिमन छन्त्यालले प्रतिउत्तर लगाउँदै ‘मैले श्रीमतीलाई खोजखबर नगर्दा निजको जीवन निरश हुनु स्वाभाविक हो । निजले माग गरेअनुसार सम्बन्धविच्छेद गर्न मञ्जुर छु,’ भन्ने छोराले पठाएको लिखित जवाफ पेस गरे । अदालतले हालै छोरा पुस्कल र संगम बाबुको जिम्मा रहने र अंश दाबी नगर्नेगरी सम्बन्धविच्छेद गराइदियो । बेनी नगरपालिका ४ की २१ वर्षीया मेलिना खत्री र २२ वर्षीय सुदीप खत्रीबीच २०७३ माघ १८ मा प्रेम विवाह भएको थियो ।

विवाहपछि सुदीप अस्ट्रेलिया हिँडे । ‘अध्ययनका लागि विदेश अस्ट्रेलिया जान सहमति भएको हो । विस्तारै कुरा बाझिए, मन फाटयो,’ सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मेलिनाले चढाएको फिरादमा भनेकी छन्, ‘आफ्नो सीप र क्षमताले काम गर्न सक्ने हुँदा अंश चाहिन्न सम्बन्धविच्छेद गरिपाऊँ ।’ प्रतिउत्तरमा सुदीपले भनेका छन्, ‘मैले केही भनेको छैन, श्रीमती नै तर्केकी हुन् ।’

मालिका गाउँपालिका ६ की २५ वर्षीया केशसरा रोका र सोही ठाउँका चेमप्रसाद रोकाको प्रेम विवाह भएको थियो । उनीहरूबाट दुई छोरा छन् । चेमप्रसाद वैदेशिक रोजगारीमा मलेसिया हिँडेपछि छोराहरूलाई अंग्रेजी स्कुल पढाउन केशसरा सदरमुकाम बेनी झरिन् । उनी बेनी बस्न थालेपछि श्रीमान्सँगको सम्बन्धमा अविश्वासले डेरा जमायो ।

वैवाहिक जीवन धरापमा परेपछि केशसराले नै सम्बन्धविच्छेदका लागि अदालतमा फिराद गरिन् । ‘प्राय: श्रीमान् विदेश मात्र बस्ने, सम्पर्क हुँदा मानसिक पीडा दिने गरेकाले बरु कानुनले अंश पाउने हक दिएको भए पनि अंश नलिई छोराहरू विपक्षीले हेर्नेगरी सम्बन्धविच्छेद गरी पाऊँ,’ उनको फिरादमा छ । प्रतिउत्तरमा चेमप्रसादले भनेका छन्, ‘मैले फोन गर्दा झर्कने, झगडा गर्ने । म त अब अर्कैको भएँ, तँसँग बस्दिनँ भनेकाकाले सम्बन्धविच्छेद गर्न मञ्जुर छु ।’

म्याग्दी जिल्ला अदालतमा आव ०७४/७५ मा दर्ता भएका १ सय ३८ सम्बन्धविच्छेदका मुद्दाका यी प्रतिनिधि उदाहरण हुन् । यस्ता मुद्दाका मिसिलहरूको अध्ययन गर्दा जिल्लामा उमेरै नपुगी विवाह र वैदेशिक रोजगारीले पारिवारिक ‘यौन अविश्वास’ बढेर दम्पतीहरू सम्बन्धविच्छेदको अवस्थामा पुगेको देखाएका छन् । अदालतका अनुसार सम्बन्धविच्छेदका घट्ना बर्सेनि बढेका छन् । सम्बन्धविच्छेद गराउनेमा १६ देखि २७ वर्ष उमेर समूहका धेरै छन् ।

‘अधिकांश सम्बन्धविच्छेदमा विप्रेषणको प्रभाव परेको देखिन्छ । फिरादहरू हेर्दा जैविक आवश्यकताको सही व्यवस्थापन नभएर पनि सम्बन्धविच्छेदका घटना बढेका हुन् भन्नुपर्छ,’ स्रेस्तेदार राजु ढुंगानाले भने, ‘हरेक वर्ष सम्बन्धविच्छेद, विवाह बदर र नाता कायमका मुद्दाको संख्या बढ्दै गएका छन् ।’ बालविवाह, मेलाजात्रा तथा खुला संस्कृति र रोजगारीका लागि अधिकांश युवा (विशेषगरी पुरुष) विदेश हिँडेपछि बुहारी र परिवारबीच अविश्वास बढ्दो छ । वैदेशिक रोजगारी र विप्रेषण रकम नै सम्बन्धविच्छेदको मुख्य कारण भए पनि अधिकांश मुद्दामा सामान्य खानलाउन नदिएको, कुटपिट गरेको र बेवास्ता गरेको कारण देखाइएको हुन्छ ।

‘सम्बन्धविच्छेदका अधिकांश मुद्दाको खास कारण परपुरुष/स्त्री यौन सम्बन्ध नै हुन्छन् । तर, यौन प्रमाण नहुने हुँदा उल्टो गालीबेइज्जती मुद्दा लाग्ने भएकाले अदालतमा फिराद लेख्दा यी कुरा लेख्न मिल्दैन,’ अधिवक्ता ठहरबहादुर भण्डारीले भने। बाबुआमाबीच सम्बन्धविच्छेद भएका बालबालिकाको संरक्षणको भार वृद्ध हजुरबा–हजुरआमामाथि परेको छ ।

बाबुआमाको संरक्षणमा हुर्कनुपर्ने धेरै बालबालिकाले बर्सेनि संरक्षकत्व गुमाएका छन् । यस्ता बालबालिकाहरूमा मनोवैज्ञानिक असर परेको छ । ‘सम्बन्धविच्छेदको मुद्दामा अदालतले फैसला गर्दा नाबालक भए स्वत: आमासँग, उमेर पुगेका बालबालिका भए बाबु वा आमाको संरक्षकत्वमा रहन्छन् भन्ने विश्वास राख्छ ।

बालबालिकाको संरक्षणको अधिकारबारे अभिभावकलाई सचेत पनि गर्छाैं,’ न्यायाधीश राजकुमार कोइरालाले भने, ‘तर, बाहिर व्यवहारिक जीवनमा बालबालिकाले दु:ख पाएको देखिन्छ ।’ न्यायिक उपचारका लागि अदालतमा मुद्दा लिएर आउनेलाई एउटा न्यायिक निष्कर्ष दिए पनि समाज फरक धारमा गइरहेको देखिएको उनले बताए ।

म्याग्दी बहुमुखी क्याम्पसका समाजशास्त्रका सहप्रध्यापक गोरखबहादुर जिसी १०/१२ दिनसम्म लाग्ने लाग्ने मेलाजात्रामा किशोरावस्थामै रमाइलो गर्ने चलनले उमेर नपुग्दै विवाह र यौनस्वच्छन्दता बढ्दा सामाजिक सम्बन्धहरू भत्केको बताउँछन् ।

कलिलो उमेरका किशोरीलाई विवाह गरी ‘यौन लत’ लगाएर श्रीमान् विदेश हिँड्दा पारिवारिक ‘यौन अविश्वास’ बढेको उनको भनाइ छ। ‘मोबाइल फोन, फेसबुकको पनि दुरुपयोग भएको छ,’ उनले भने, ‘पैसा, स्वतन्त्रता, सामाजिक सञ्जालको विस्तारले यौन जीवनमा मात्र होइन जन्म, विवाह, मृत्यु संस्कारदेखि मेलाजात्रा र परम्परागत सामाजिक मूल्य मान्यतामा नकारात्मक असर पारेको छ ।’ kantipurdaily.com