उडेर औषधी राम्चे गाउँमा आउँदा…

अन्नपूर्ण गाउँपालिका–८ राम्चेका थास बहादुर गर्बुजाले केहीबर्ष अगाडीसम्म स्वास्थ चौकीमा पुग्दा सिटामोल समेत मुस्किलले पाउँथे ।निशुल्क उपलब्ध गराउने औषधी समेत स्वास्थ्य चौकीमा नहुदाँ रित्तो हात लिएर घर फर्केका धेरै गर्बुजाले अझै सम्झन्छन् । घर नजिकै रहेको स्वास्थ्यचौकीको सुविधा लिन पैदल र सवारीसाधनको प्रयोग गरी सदरमुकाम बेनी पुग्नुपर्ने बाध्यता थियो ।

राम्चे, नागी र कापलडाँडा लगाएत साविकको राम्चे गाविसका बासिन्दालाई स्वास्थ्यचौकीका कर्मचारीले सेवा दिन खोजेपनि औषधी आपूर्ती समयमै नहुदाँ निराश हुने गरेका थिए । अध्याँरो मुख बनाएर स्वास्थ्य चौकीबाट घर फर्किने स्थानीयबासीलको अनुहार अहिले चम्किलो देखिन्छ । गत आइतबार नागीस्थित हिमाञ्चल माध्यामिक विद्यालयबाट करिव एक केजी औषधी लिएर आकाशमा उडेर गाउँमा पुगेपछि राम्चेबासी फुरूङ्ग भएका थिए ।

जमिनबाट समेत समयमै गाउँमा औषधी नआउँदा भोग्नुपरेको समस्याबाट आजितको विगतका दिनहरूलाई सम्झदै राम्चेबासीले स्वचालित मानवरहित हित ‘मेडिकल ड्रोन’ले औषधी बोकेर गाउँमा आएपछि उत्साहित हुदै स्वागत गरेका थिए। ‘यस्तो दिन पनि देख्न पाइने रहेछ,गाउँमा उडेर औषधी आउँदा हरेक घरधुरीबाट स्वागत गरेका थिए’राम्चे टोल विकास समितिका अध्यक्ष समेत गर्बुजाले भने ।

उनले १५ सय मिटर उचाईबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको नागीबाट उडेर गाउँमा पुगेको ड्रोन औषधी छोडेर फर्किएको बताए । गाउँमा आवश्यक औषधी ढुवानीका लागि देखिएको समस्या समाधान हुने भएपछि स्थनीयबासी उत्साहित भएका छन् । सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहिलो उपहार स्वरुप ‘मेडिकल ड्रोन’ ले अघिल्लो हप्ताको शनिबार समेत परिक्षण गरेको थियो । अघिल्लो दिनको परिक्षण सफल भएपछि दोस्रो दिन औषधी लिएर नागी पुगेको स्थानीयको भनाई छ ।

औषधी अभावमा स्थानीयलाई परेको समस्याबाट दुखी रहेका स्वास्थ्य चौकी प्रमुख चाँदनी घले र अनमी बनिता गर्बुजाको अनुहारमा समेत छुट्टै चमक थियो ।नेपालका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधी ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसावको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पङ्खा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ ले औषधी ढुवानी गरेको आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए ।

‘परिक्षणको रुपमा औषधी ढुवानी गरिएको छ, केही सुधारको आवश्यकता समेत देखियो’ पुनले भने । अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधी ढुवानी,विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरण सहितका मेडिकल साम्रागीलाई पु¥याउन समेत सहज हुने गरी बनाइएको पुनको भनाई छ । औषधी ओसारपसार गर्न पहिलोपटक प्रयोग गर्न लागिएको ड्रोन ले अन्तराष्ट्रियस्तरका आविष्कार केन्द्रको ध्यान समेत तानेको छ ।

पुनले आफुँ जन्मिएको र पहिलोपटक अमेरिकाबाट फर्किएपछि बेतारे इन्टरनेट सहित आफ्नो भिजनलाई प्रयोग गरेको जन्मगाउँबाटै परिक्षण गरेका थिए । परिक्षणमा प्रयोग गरिएको अप्टोकप्टरले ड्रोन उच्च हिमाली क्षेत्रमा करिव १५ सय मिटर दुरीमा सफल उडान भरेको समेत केन्द्रका इन्जिनियरहरुले बताएका छन् ।‘नेपालको प्रविधि विकासमा यो कोशेढुंगा सावित भएको छ । ब्यवसायीक उत्पादनका लागि सहज भएको छ’ प्राविधिक टोलीका एक सदस्यले भने ।

जहाजको मोडेलमा तयार पारेको ड्रोनबाट धेरै औषधी ढुवानी गर्न सकिने केन्द्रले जनाएको छ । २ देखी ५.५ किलोमिटरको दूरीमा सजिलै औषधी पु¥याउन सकिन्छ । ड्रोन लिएर गाउँमा पुगेका पुन सहितको टोलीलाई स्थानीयले भब्य स्वागत गरेका थिए । दुर्गम क्षेत्रको दुरीमा सबैभन्दा दु्रत र उपयोगी हुने विश्वास गरिएको छ । सडक सञ्जालले नजोडिएका म्याग्दीका अति विकट बस्तीमा समेत यसलाई प्रयोग गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले बताए।

‘नेपालको मेडिकल क्षेत्रमा नयाँ अभ्यास हो, अकालमा ज्यान गुमाउने विरामीलाई यसले बरदान सावित हुन्छ’ डा. न्यौपानेले भने । केन्द्रमा निर्मित नमुना ड्रोनले अन्नपूर्ण गाउँपालिका ७ र ८ मा पर्ने हिस्तान र राम्चेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई तथा ग्रामिण स्वास्थ्य सेवा गरी ८ वटा र टेलिमेडिसिन सेवाका लागि आवश्यक पर्ने औषधी ढुवानीमा प्रयोग गरिने छ । केन्द्रले भविस्यमा करिव २० किलोमिटर सम्म उडान भर्न सक्ने ड्रोन बनाउने सोच बनाएको छ ।

ड्रोन बनाउन केन्द्रमा ३० जनाको हाराहारीमा इन्जिनियरहरु खटिएका छन् । नयाँ सृजनशिल काम गर्ने नेपाली यूवाहरूलाई काम गर्ने वातावरण बनाउन केन्द्र सफल भएको छ । देशको कुल ग्रार्हस्थ उत्पादनको शुन्य दशमलब ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने पुनको प्रस्तावलाई सरकारले स्वीकार नगरेपछि केन्द्र स्थापनाको घोषणा गरेका थिए । पुनले नेपाल तथा विदेशबाट केन्द्रलाई महादान अभियानबाट आर्थिक जुटाइरहेका छन् ।

केन्द्रले विद्युत उत्पादनका लागि ५० करोड आर्थिक संकलन गरी बाँकी बैंकबाट ऋण लिएर काम गर्ने बताएपनि सहयोग जुट्न समय लाग्ने भएपछि ड्रोन सहितका उपकरण बनाउने कार्य सुरु गरेको थियो । केन्द्रको दीगो विकासका लागि ३ बर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगी जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय थिए । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गरेका छन् ।तस्वीर सौजन्य कमल पुन ÷नागी