उत्तरी म्याग्दीमा भारी बर्षासंगै बाढीपहिरोले वितण्डा मच्चाएको छ । भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले बेनी–जोमसोम सडकखण्ड छियाछिया पारेपछि सिधा यातायातका साधान सञ्चालन हुन सकेको छैन् । ठाउँठाउँमा खसेको पहिरो र कटानले मुस्ताङ जोड्ने सडक विच्छेद भएको छ ।

उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएसंगै एकसातासम्म सिधा यातायात सञ्चालन नहुने अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । नदी कटानले सडक भासिएपछि पैदलयात्री समेत अलपत्र परेका छन् । मुस्ताङ्गको थासाङ गाउँपालिका–४काभ्रेभीरमा सडक कटानले पैदल आवतजावतमा समेत समस्या भएको बताए ।थासाङको काभ्रेभीर,देउराली क्षेत्रमा बस्तीसंगै खेतीयोग्य जमिन समेत कटानको उच्च जोखिममा परेको छ ।

सडकखण्डका विभिन्न भागमा नयाँ तथा पुराना पहिरोले दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ ।गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडमा कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने स्थानीय जनप्रतिनिधिको भनाई छ ।

सडकखण्डको केही स्थानमा जमिन निकै कमजोर भएकाले पनि पटकपटक समस्या आउने गरेको प्राविधिकको भनाई छ ।हरेक बर्ष कालिगण्डकीले धार परिवर्तन गरिरहेको छ । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ।७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकको मर्मतमा ठुलो लागत लाग्ने प्राविधिकको भनाई छ ।

यसैबीच अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ कोप्चेपानी स्थीत धौलागिरी आधारभुत विद्यालयलाई कालिगण्डकी नदीको कटानले पूर्णरुपमा क्षती पुगेको छ । नदीले धार परिवर्तन गरेर ६ कोठे कक्षा कोठा भवन बगाएको हो । २० जना विद्यार्थीको नियमित पठनपाठनमा आवश्यक पहल गर्न गाउँपालिकालाई अनुरोध गरिएको छ । कोप्चेपानीमा रहेका २४ घरधुरी मध्ये ८ घरधुरी उच्च जोखिममा रहेका छन् । कालीगण्डकीको नदीको कटानले जनजागृति आमा समुहको भवन, स्थानीय मन्दिर समेत जोखिममा परेको छ ।