कालिगण्डकी नदीले थुनिएको हल्ला निराधारः प्रहरी

0

कालिगण्डकी नदी थुनिएको हल्ला चलेपछि म्याग्दीमा त्रास फैलिएको छ । लगातारको बर्षाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको धौलागिरी आधारभुत विद्यालयलाई बुधबार कालिगण्डकीको नदी कटानले बगाएपछि नारच्याङ र दानामा कटानको उच्च जोखिमले स्थानीय सुरक्षित स्थान तर्फ लागेका छन्।

तटिय क्षेत्रमा जोखिम बढिरहेको अवस्थामा कालिगण्डकी थुनिएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले हल्ला निराधार भएको बताएको छ । भारी बर्षाले तटिय क्षेत्रमा सर्तकता आवश्यक भएपनि नदी नै थुनिएको हल्ला गलत भएको प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढाले बताए । ‘सर्तकता भन्दा पनि त्रसित बनाउन खोजिएको छ,‘हाम्रो टोलीले थुनिएको भनिएको ठाउँबाट जानकारी लिएको छ’ प्रनाउ बुढाले भने ।

उनले नदीको बाहव बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा सर्तकता आवश्यक भएपनि नदी थुनिएको हल्लाको पछाडी नलाग्न बेनीअनलाइन मार्फत आम सर्वसाधारणलाई अपिल गरेका छन् । विपद्मा सहकार्यको आवश्यकता रहेको बताउँदै गलत सन्देश प्रवाह गर्नुले जनमानसमा नकारात्मक र त्रसितको वातावरण बन्ने प्रनाउ बुढाको भनाई छ । यसैबीच नारच्याङको कोप्चेपानीकी धौलागिरी आधारभुत विद्यालयकी प्रधानध्यापक शान्ति राम्जालीले समेत नदी थुनिएको खवर सत्य नभएको बताएकी छन् ।

‘मेरो घर आसपासमा फैलिएको हल्ला रहेछ,‘यहाँ केही भएको छैन’ बेनीअनलाइनसंग राम्जालीले भनिन् । विहान विद्यालयको भवन भत्किएपछि विद्यार्थीलाई अभिभावकसंगै सुरक्षितस्थलमा पठाएर घर फर्किएको बताउँदै दाना र नारच्याङमा नदी थुनिएको हल्ला चलेपनि नदी आफ्नै धारमा बगेको बताईन् । कोप्चेपानी आसपासमा केहीदिन यता कटान गरेर फराकिलो भएर बगेको कारण कालिगण्डकीको आवाज नआएको भन्दै हल्ला चलेपछि उनको भनाई छ । नदीले कटान गरेको आसपासमा पहिरो खस्ने क्रम जारी भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उनको भनाई छ । यता प्रहरीले सामाजिक सञ्जालमा हल्ला चलाउनेलाई चेतावनी दिएको छ ।

Dpo Myagdi

आज मिति २०७५।०४।३० गते अं.०८:०० बजेको समयदेखी म्याग्दी जिल्लाको कोप्चेपानी भन्ने ठाउँमा कालिगण्डकी नदी थुनिएको हुदाँ ” नदी किनारका बस्तीहरुमा सुचना पुर्याउ मानविय क्षतीबाट जोगाउँ ” भनि भ्रमपूर्ण खबर सामाजिक सञ्जाल फेसबुक मार्फत फैलाई आम मानसमा डर त्रास उत्पन्न गराउने कार्य भएको प्रति यस जिल्ला प्रहरी कार्यालय म्याग्दीको गम्भिर ध्यानाकर्षण भएको छ,सो सम्बन्धमा यस कार्यालय तथा मातहत प्रहरी ईकाई समेतले कालिगण्डकी नदी आसपासका क्षेत्रहरुमा अवलोकन गर्दा कालिगण्डकी नदी आफ्नो बहावमा बगीरहेको ,कही कतै नथुनिएको पाईएको हुदाँ सर्वसाधारणमा यो सुचना जारी गरीएको छ,आधिकारीकता बिनाका यस्ता भ्रमपूर्ण अफवाहरुको पछी नलाग्न तथा यस्ता गलत सुचना प्रवाह नगर्न आम नागरिकहरुमा हार्दिक अनुरोध गरीएको छ ।
पुनश्च :- गलत सुचना प्रवाह गर्ने ब्यक्तीको खोजी गरी आवाश्यक कारबाही गरीने ब्यहोरा समेत जानकारी गराईन्छ