तस्विरमा महादेव माविको स्वर्णजयन्ती

शनिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा आयोजित महादेव माध्यमिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटन गरिएको छ । स्थानीयको प्रयासमा सुरु भएको विद्यालयको भबन बनाउने अभियान अन्र्तरगत पहिलो दिनको कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गदैं महिला तथा बालबालिकामाथी हुने हिंसाको अन्त्य गर्नुपर्ने बताएकी छिन् ।

मन्त्री थापाले ज्येष्ठनागरिक, अपाङ्गता र एकल महिलाको सुरक्षा तथा संरक्षणका लागि मन्त्रालयमार्फत आफूले आवश्यक नीति एवं कार्यक्रम बनाउन लागेको जानकारी गराइन् । नेपाल प्राकृतिक स्रोत र साधनका हिसाबले धनी देश भएको बताउँदै मन्त्री थापाले स्रोतसाधनको परिचालन गरेर विकास गर्न सकेमा आगामी १० वर्षमा नेपालले विकासमा फड्को मार्ने पनि बताइन् । शिक्षामा सबै बालबालिकाको पहुँच बढाउन सरकारले आजदेखि विशेष भर्ना अभियान सुरु गरको भन्दै शिक्षा सबै नागरिकका लागि सहज र सर्वसुलभ हुनुपर्ने उनको भनाई छ ।

मन्त्री थापाले शिक्षामा भैरहेको बिकृतिको अन्त्य गरी व्यावसायिक, प्राविधिक, आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताइन् । सोही अवसरमा उनले बेगखोलाकी सपना चोचाङ्गीलाई झोला, स्टेशनरी र विद्यालय पोशाक हस्तान्तरण गरी बालशिक्षा कक्षामा भर्ना गरेकी थिइन् । बेगखोला गाउँको विकासका लागि आफूले सक्दो पहल गर्ने मन्त्री थापाले बताएकी छिन् । देशको आर्थिक विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी सरकारले काम गरिरहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा बोल्दै बेगखोला कल्याणकारी समाज उपशाखा युके तथा एनआरएनका अध्यक्ष योगकुमार फगामीले गाउँको विकासका लागि आफूहरुले प्रवासबाट सहयोग गरिरहेको बताए । उनले बेगखोला गाउँमा सडक विस्तार, विद्यालय सञ्चालन, खानेपानीलगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको बताउँदै विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजा र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राजनीतिक अधिकारको लँडाई सकिएको हुँदा अब आर्थिक क्रान्ति र समृद्ध देश निर्माण अभियानतर्फ सबै मिलेर लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुबेदार नरबहादुर तिलिजा, पूर्व प्रधानाध्यापक दुतबहादुर गर्बुजा, वडाध्यक्ष बिलबहादुर फगामी, बेगखोला कल्याणकारी समाज उपशाखा हङकङ अध्यक्ष गिरी शेरपुञ्जा र बेगखोला कल्याणकारी समाज युकेका सल्लाहकार युबहादुर गर्बुजाले मन्तव्य राखेका थिए ।

कार्यक्रम विव्यस अध्यक्ष नरसिङ पुनको अध्यक्षता, प्रअ घनबहादुर फगामीको स्वागत, विद्यालय पुनर्निर्माण अभियानका सचिव नख्खु पूर्जा र शिक्षक हरि सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । स्वर्णजयन्तिको अवसर पारेर रोजगारको सिलसिलमा विदेशमा रहँदा गाउँको विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने प्रवासी बेगखोलावासीलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा मगर समुदायले आफ्नो पुख्र्यौली नाच र भेषभूषाहरु प्रदर्शन गरेका थिए ।