कांग्रेस म्याग्दीले चर्को करको विरोध गदैं ज्ञापनपत्र

0

नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो।

कांग्रेसका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी, सचिव क्याप्टेन मिन बहादुर कार्कीले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै समायोजनको माग गरेका हुन् । जनतालाई सेवाको नाममा नगरपालिकाले लिने करको तिब्र गुनासो आइरहेकाले ज्ञापनपत्र बुझाएर ध्यानर्कषण गराइएको रेग्मीले बताए ।

‘स्थानीयतहले एकैपटक तिर्ने नसक्ने करको भारी बोकाएको छ,‘संघीयता करकै लागी भन्ने भ्रम चिर्न आवश्यक छ’ रेग्मीले भने ।बेनी नगरपालिकाले एकिकृत सम्पत्ती करमा राखेको दरको तिब्र आलोचना भइरहेको छ । बजार र ग्रामिण क्षेत्रका जनतालाई एकै किसिमको जस्तै देखिएको अवस्थामा जनतालाई करको बारेमा जानकारी गराउने कार्यक्रम ल्याउन समेत माग गरिएको थियो ।

कार्यक्रममा पार्टीका पूर्व उपसभापति नेत्र बहादुर महत, सहसचिव भरत रकाल लगाएतको उपस्थिती रहेको थियो । यता नगरप्रमुख श्रेष्ठले पहिलो चौमासिक भित्र कर तिर्नेलाई १० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए । उनले नगरपालिकाले विभिन्न भेला, छलफल, बैठकबाट कर निर्धारण गरेको बताए । उनले गुनासोलाई कार्यपालिकाको बैठकमा प्रस्ताव गर्ने बताए । यता कांग्रेसले जिल्लाका ५ वटा गाउँपालिकालाई समेत कर समायोजनमा चासो देखाउन अनुरोध गरेको छ । ज्ञापनपत्रलाई बेवास्ता गरिए चर्को आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।