योग दर्शनमा मन्थन कार्यक्रमको समापन

नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीको आयोजनामा बेनीमा नेपालमा नै पहिलो पटक आयोजना गरिएको ‘योग दर्शनमा मन्थन’ कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

१५ दिनसम्म बेनीमा सञ्चालन भएको महर्षि पतञ्जलीकृत योग दर्शनमा मन्थन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभाका सदस्य भुपेन्द्रवहादुर थापाले योगलाई मानवको जीवन पद्यतीसंग जोड्नु पर्ने बताउँदै आहार,विहार र व्यवहार नै मानव स्वास्थ्यका लागि प्रतिकुल बन्दै गएको अवस्थामा योग निर्विकल्प माध्यम हो भन्नुभयो ।

नियमित योग गर्नाले मानवको स्वास्थ्य मात्र होइन मन र मस्तिष्क पनि स्वस्थ हुने बताउँदै सांसद थापाले स्वास्थ्योपचारका लागि अर्वौ रुपैयाँ विदश गैरहेको अवस्थामा योग गरी स्वस्थ रहन र विदेश जाने अर्वौ रुपैयाँ बचाउन सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ४ का सांसद विनोद केसीले विद्यालय र कलेज स्तरमा योग शिक्षालाई समावेश गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष देवेन्द्र केसी,प्रमुख प्रशिक्षक सन्त शुभदास,प्रकास श्रेष्ठ लगाएतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम नविन आनन्द योग केन्द्र नेपाल म्याग्दीका अध्यक्ष योगगुरु नविन जुग्जालीको अध्यक्षता,ओमकुमारी थापाको स्वागत र संस्थाका सचिव सुरेन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।