बेनी नगरपालिका–९ घतानमा अवस्थित एतिहासिक, पर्यटकीय र धार्मिक महत्व बोकेको भगवती कोत मन्दिरको मर्मतमा स्थानीय यूवा सक्रिय भएका छन् । बाइसेचौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिर्ण भएपछि मर्मतसम्भार तथा पूर्वाधार विस्तार गरी प्रचारप्रसार गर्ने उदेश्यले घतानबाट विदेशमा रहेका यूवाले आर्थिक स्रोत जुटाउने अभियान थालेका हुन् ।

एतिहाँसिक ढोल्थान दरबारको काखमा अवस्थित मन्दिरलाई नेप्टेचौरका कृष्ण चोखाल र घतानका रामु रत्नाको पहलमा आर्थिक संकलन भइरहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएपनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको मन्दिर लगाएत आसपासका क्षेत्रमा आन्तरिक पर्यटकलाईअ आर्कषित गर्न स्थानीयले सक्रियता देखाएको अभियानमा जुटेका रामु रत्नाले बेनीअनलाइनलाई बताए ।

‘कोत मन्दिरको सयौंबर्ष पुरानो इतिहास छ,‘मन्दिरको संरक्षण गर्नु सबैको जिम्मेबारी हो’ उनले भने । पुजाआजा गर्ने बेलामा मन्दिरमा पुग्ने गरिएपनि अन्य समयमा प्रचारप्रसार तथा पूर्वाधार विस्तारमा बेवास्ता भएपछि यूवाहरुले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग संकलन गरेको उनले बताए । ढोल्थानको कोतबाट छुट्टाएर पात्लेखेत, तोरिपानी लगेपछि त्यहाँको संरक्षणमा चासो घट्दै गएको स्थानीयको गुनासो छ ।

ढोल्थानमा एतिहाँसिक पुलस्त्य पुलह आश्रम, जगन्नाथ मन्दिर लगाएत घतान, तोरिपानी लगाएतका क्षेत्रबाट जाने गरिन्छ । धौलागिरी सहित आधा दर्जन हिमालको अवलोकन गर्न सकिने मन्दिर आसपासका क्षेत्रमा रहेको फाँटमा तत्कालिन समयमा दरबारले प्रयोग गरेका विभिन्न आकारका चिन्हरु समेत भेटिन्छन् । आर्थिक संकलन अभियान जारी रहेको छ ।