बेनी–जोमसोम– कोरला सडकखण्ड अन्तरगत मुस्ताङ थासाङ गाउँपालिका–४काभ्रेभीरमा सडकमा भ्वाङ परेको छ ।बाढीपहिरोले छियाछिया भएको सडकमा भ्याङ परेपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । सडकमा परेको भ्याङबाट कालिगण्डकी नदी समेत देखिन्छ । उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको दर्जनौ ठाउँमा तल र माथिबाट खसेको पहिरोले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।

‘सडकखण्डमा धेरै जोखिम छ, यात्रुले भीरबाट आवतजावत गर्नुपर्ने बाध्यता छ’ शेरचनले भने । उनका अनुसार उत्तरी म्याग्दीको भुरुङ तातोपानी र दानामा माथिबाट खसेको पहिरो र बेलाबेलामा जमिन भासिने गरेकाले पनि बर्खायाममा यात्रा निकै जोखिम हुने गरेको छ ।सडक स्तरउन्नती गर्दा नदीमा फालिएका ठुला चट्टान, माटोले नदीको धार परिवर्तन हुदाँ भुरुङ तातोपानी कुण्ड नजिक रहेको खेलकुद मैदान सहितको संरचना समेत डुवानमा परेको थियो ।

अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकामा पहिरो र नदी कटानले धेरै जोखिम बनाएको छ । उत्तरी म्याग्दी र मुस्ताङका स्थानीय, कर्मचारीका साथै विदेशी पर्यटकले समेत अस्थायी मार्गको प्रयोग गरी यात्रा गर्ने गरेका छन् । सिधा यातायातको विच्छेद भएको एकसाता वितिसक्दा समेत नियमित हुन सकेको छैन् । नदी कटानले छियाछिया भएपछि बैकल्पिक मार्गका लागि डोजर,स्काभेटर, ब्रेकेरको प्रयोग गरिएको छ ।

उत्तरी म्याग्दीमा विगतका तुलनामा सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरउन्नतीको कार्य समेत बर्षासंगै आएको बाढीपहिरोले अवरुद्ध भएको छ ।करिडोर अन्र्तरगत बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, शर्मा गजुरमुखी जेभी र मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्ट्रक्सनले समेत बाढीपहिरोले काममा बाधा पुगेको बताउँदै अध्ययन गरेर मात्र मर्मत गर्नुपर्ने बताउँदै आएको छ ।

हिलाम्मे सडक, सडक माथिको भीरबाट खस्ने ढुंगा र पहिरोले यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपरेको अवस्थामा बैकल्पिक बाटोबाट यात्रा गर्न अनुरोध गरिएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले बताए । उनका अनुसार ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकको मर्मतमा ठुलो लागत लाग्ने भएकाले पनि प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरिएको छ ।