स्थानीयको सक्रियतामा मुदीमा पैदलमार्ग, खानेपानीको धारा सरसफाई

0
379

म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा स्थानीयले सार्वजनिक बाटो, खानेपानीको धारा, ढल तथा नालीको सरसफाई गरेका छन् । बर्षाले खानेपानी र गोरेटो बाटो अस्तब्यस्त भएपछि मुदीका पाँच वटा समूह र प्रथम धौलागिरी यूवा क्लवको नेतृत्वमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।

जिल्लाकै दुर्गम तथा भौगोलिक रुपमै विकट रहेको मुदीमा आपूर्ती हुने खानेपानी तथा मुदी हुदै नेरवाङ, अर्जे, खोरिया लगाएतका बस्तीमा जाने पदैलमार्ग समेत पहिरो खसेर अवरुद्ध भएका छन्।

स्थानीयले सरसफाई अभियान सञ्चालन गरी अवरुद्ध भएका पदैलमार्ग, खानेपानीका साथै आसपासका क्षेत्रमा आवश्यकता अनुसार सरसफाई गरिएको स्थानीय यूवा लोकमान चोचाङ्गेले बेनीअनलाइनलाई बताए । ‘ग्रामिण क्षेत्रमा अस्तब्यस्त छ,‘आवश्यकता परेमा तत्काल जनश्रमदान जुट्ने भएकाले पनि सहज हुन्छ’ उनले भने । उनका अनुसार गाउँमा रहेका समुहले आफ्नो टोल आसपासमा आवश्यकता परेमा जनश्रमदान गर्ने गरेका छन् । भारी बर्षाले पैदलमार्गमा समेत समस्या परेपछि विद्यालय जाने बालबालिकालाई धेरै सकस हुने गरेको छ । मुदीबाट खिवाङ, बगर, मुनाको दर, नेरबाङ जाने बाटो समेत सरसफाईको अभियान सञ्चालन गर्ने जनाइएको छ ।