कालिगण्डकी नदीको कटान र पहिरोले अवरुद्ध भएको बेनी–जोमसोम सडक सिधा सञ्चालन भएको छ । सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया भएको सडकको मर्मतसंगै सोमबार साँझबाट सुचारु भएको हो । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण म्याग्दी र मुस्ताङको अवरोध पन्छाउँदै एकसाता पछि सिधा यातायात सञ्चालनमा आएको त्यहाँबाट देबेन्द्र चोखालले बेनीअनलाइनलाई बताए ।‘पैदलबाटो समेत नहुँदा यात्रु भीरमा झुन्डिएर यात्रा गर्न बाध्य थिए,‘सडक खुलेपछि अलपत्र सवारीसाधन गन्तब्य तर्फ लागेका छन’ चोखालले भने ।

पानीको सतह बढेसंगै कालिगण्डकी नदीले धार परिवर्तन गर्दा सडकखण्डको अन्नपूर्ण गापा– २ तातोपानीको पोखरी, नागढुंगा, दानाको गुईठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कुम, मार्फाको स्याउबारी आसपासमा ब्यापक कटान गरेको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । अस्तब्यस्त सडकका कारण उत्तरी म्याग्दी, मुस्ताङका स्थानीय, कर्मचारीका साथै पर्यटकले नाकै ठोकिने पहाडबाट डोरीको साहरामा यात्रा गर्ने गरेका थिए । अझैपनि सडकखण्डमा जोखिम कायमै छ ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडमा कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने अवस्था रहेकाले मनसुन सुरू भएसंगै लगत्तै भएपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन ५ गते शनिबार देखी भदौ ३१ गतेसम्म रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

गलेश्वर देखी जोमसोम तर्फ जाने सवारीसाधनलाई बेलुकी साढे ५ बजे देखी बिहान ५ बजेसम्म र मुस्ताङको थासाङ गाउँपालिकाको घाँसाबाट बेनी तर्फ आउने सवारीसाधनलाई बेलुकी ६ बजे देखी बिहान ५ बजेसम्म पूर्ण रुपमा आवागमन बन्दलाई कडाई गरिएको छ । करिडोर अन्र्तरगत बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, शर्मा गजुरमुखी जेभी र मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्ट्रक्सनले अवरुद्ध हटाउने गरेको छ ।७६ किलोमिटर दुरी रहेको सडकखण्डको स्तरउन्तीको क्रममा जथाभावी ढुंगामाटो नदीमा फाल्दा नदीको धार परिवर्तन गरेपछि ब्यापक क्षती भएको छ ।