भारी बर्षाले विद्यालय नजिक रहेको मोटरबाटो पहिरोले क्षती पुगेपछि बेनी नगरपालिका–३ डोलेमा अवस्थित मुसुङडोले आधारभुत विद्यालय पहिरोको जोखिममा परेको छ । सदरमुकाम बेनी हुदै भकिम्ली हुदै डोले,मुसुङ लगाएतका बस्तीमा जोड्ने लिसेपानीमा सडक भत्किदाँ विद्यालय आसपासको क्षेत्र समेत उच्च जोखिममा परेको विद्यालयका प्रधानध्यापक शेर बहादुर विकले बताए । ‘तत्काल उचित संरक्षण भएर पहिरोले थप क्षतीको सम्भावना छ’ विकले भने ।

उनका अनुसार सडकखण्डमा नयाँ ट्याक खोल्ना माथिल्लो भागमा अवस्थित विद्यालयको भवन नै क्षती पुग्न सक्ने भएकाले लिसेपानी सामुदायिक बनबाटै संरक्षणको पहल गर्नुपर्ने बताए । पहिरोले सामुदायिक बनलाई समेत क्षती पुगेको छ । डोले, मुसुङ, भुकभुके हुदै स्वर्गाआश्रम र छिमेकी बागलुङको धम्जाका बासिन्दाले समेत प्रयोग गर्ने सडक मर्मतमा तत्काल बजेटको आवश्यक रहेको स्थानीय यूवा तारामिलन छन्त्यालले बताए ।

‘धेरै जोखिम छ, विद्यालयको भवन जोगाउन तत्काल पहलको आवश्यकता पर्छ’ छन्त्यालले भने । पहिरोका बारेमा वडा अध्यक्ष पदम पुनले मेयर हरिकुमार श्रेष्ठलाई समेत जानकारी गराइसकेका छन् । सडक माथि घरबाट जथाभावी पानी फाल्दा समेत समस्या भएको गुनासो गरिएको छ । वडा अध्यक्ष पुनका अनुसार भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण जोखिम बढेको छ । विद्यालयमा १ सय ६२ विद्यार्थीलाई अध्त्तययरत छन् ।