विद्यालयबाट आफ्नो नाम हटाउँदै निष्काशन गर्न प्रधानध्यापकलाई पत्र लेखेकी बेनी नगरपालिका–६ अर्थुङ्गे फोओठेकी १२ बर्षिया पुजा खत्रीको परिवारलाई अनेरास्ववियू म्याग्दीले पहिलो आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएपछि जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले आफ्ना भाईबहिनीसंगै विद्यालय जाने वातावरण नभएको भन्दै प्रधानध्यापक सोमनाथ ढुंगानालाई पठाएको पत्र सहित बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेल, जिल्ला अध्यक्ष सुवास विक लगाएतको टोलीले घरमा आवश्यक पर्ने करिव १२ हजार बराबरको खाद्य साम्रागी सहयोग गरेका छन् । जिल्ला अध्यक्ष विकको नेतृत्वमा पुगेको टोलीले खत्रीको परिवारलाई थप सहयोगको प्रतिबद्धता समेत जनाएका थिए ।

दैनिकजसो आमालाई कुटपिट गर्ने,ज्यालामजदुरी गरेकै ठाउँमा पुगेर झगडा,हातपात गर्न थालेपछि आमाले छोडेपछि विचल्ली भएकी खत्रीले नियमित विद्यालयमा आउने गरिएको अनुरोधलाई पत्र मार्फत जवाफ पठाउँदै पढ्ने रहर भएपनि घरमा भाईबहिनीलाई बिहान बेलुकी आवश्यक पर्ने खाना खोज्नुपर्ने, पोशाक, कपीकलम समेत नभएकाले आफ्नो रोल नं हटाइदिन अनुरोध सहितको पत्र लेखेकी थिईन् ।

प्रथम त्रैमासिक परिक्षामा समेत अनुस्थित हुने अवस्थालाई रोक्न विद्यालयले नियमित परिक्षामा आउने वातावरण बनाएको जनाएको छ । यसैबीच खत्रीको परिवारलाई जिल्लाका साथै स्वदेश विदेशबाट सहयोगको ओइरो लागेको छ । आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा पढ्नबाट बन्चित भएकी खत्री र उनका भाईबहिनीलाई सहयोगका लागि बेनीमा रहेको गरिमा विकास बैंकमा पुजा खत्रीकै नाममा खाता समेत खोलिएको छ ।

विज्ञापन