यस कारण पुजाले प्रअलाई निष्काशन गर्ने पत्र लेखिन् (भिडियो)

0
721

बेनी नगरपालिका–६ फोओठेकी ९ बर्षिया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठाको भुईमा सुत्छिन् ।चिसो भुईमा एउटा पुरानो गुन्द्री ओच्छाएर भाईसंगै सुत्छिन् । अहिलेसम्म उनलाई सिरक ओढेर सुतेको अनुभव छैन् । कोठामा रहेको खाटमा ओच्छाउने पातलो दस्ना, पुरानो सिरक र सिरानी हजुरबुबालाई छुट्टाएका छन् । हजुरबुबाको भुईमा सुत्ने प्रस्तावलाई उनीहरुले पटकपटक अस्वीकार गरेपछि ढोकाको छेउमै हरेक रात काट्ने गरेका छन्।

चिसो भुईमा सुत्ने पुनम र उनका भाई पुजन र छेउमा भाच्चिनै लागेको अर्को खाटमा विद्यालयको प्रधानध्यापकलाई आफुँलाई निष्काशन गर्न चिठी लेखेकी पुजा सुत्ने गरेकी छन्। ‘मलाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन,‘स्कुल विदाको समयमा दिउँसो हजुरबुबाको खाटमा सुत्छु’ पुनमले कोठाको अवस्था देखाउँदै भनिन्।

उनले पुरानो गुन्द्रीमा सुत्दा चिसो मौसममा सिरक नहुदाँ हातगोडा, मुख सुन्निने गरेको बताईन् ।‘धेरै रात खाली पेट सुत्ने गरेका छौ,‘हामीलाई मध्यरातमा आएर बुबाले समेत कुटपिट गर्नुहुन्छ’ पुजाले भनिन् । उनले तल्लो तलामा सुत्ने गरेको कोठामा घरबाट निकाल्न बुबाले रातको २ बजे ढोका तोडफोड गरेको बताईन् ।‘चिसो भुँई भएपनि यो ठुलो कोठा थियो,‘बुबाको नाम घर भएकाले उहाँले राती आएर भत्काइदिनुभयो’ ढोका देखाउँदै भनिन् ।

रक्सीले मातेर भाई, बहिनी, हजुरबुबालाई समेत कुटपिट गर्ने गरेका पुजाका बुबा लिला बहादुर गत असार महिना देखी बेपत्ता छन् । टिनले छाएको तीनकोठे घरमा एउटा खाना पकाउने, एउटाको ढोका पुजाका बुबाले तोडफोड र माथिल्लोमा चिसोले समेत बस्न नसक्ने अवस्थाको छ । रक्सीले मातेर घरमा कुटपिट गर्न आउने बुबा, दुईबर्ष देखी सम्पर्क विहिन भएकी आमालाई उनले निष्ठुरीको संज्ञा दिईन् । ‘आमाबुबाको आश छैन्,‘दुवै आफ्नो जिम्मेबारीबाट पन्छिए, मैले अभिभावकको जिम्मेबारीमा भाईबहिनीलाई सम्हाल्दै छु’ उनले भनिन् ।

नजिकै छिमेकीबाट पैसो लिएर साउन महिनामा तीनदिन भात पाकाएकी खत्रीले चुल्होमा मामाघरबाट ल्याएको पिठो र छिमेकीले दिएको मैक छन् ।आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक साम्रागी, लत्ताकपडा, घरमा पढ्ने वातावरण नभएपछि खत्रीले जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठी पठाउँदै आफ्नो रोल नं हटाउँदै विद्यालयबाट निष्काशन गर्न अनुरोध गरेको पत्रले पुजार्का सर्वत्र चर्चा भइरहेको छ ।

विद्यालयको अनुरोधमा प्रथम त्रैमासिक परिक्षामा सहभागिता जनाइरहेकी खत्रीले घरायसी अवस्थाकै कारण पढाई छोड्नु परेको बताएपछि उनलाई स्वदेश तथा विदेशबाट सहयोगको अभियान सञ्चालन भइरहेको छ ।‘घरको अवस्था निकै दयनीय छ,‘अपाङ्ग हजुरबुबालाई पनि उनले हेनुपर्छ’ प्रअ ढुंगानाले भने । सुतेको बेलामा मध्यरातमा आतंक मच्चाउन आउने गरेको बताउँदै गाउँलेको सहयोगमा ज्यान जोगाउने गरेको बताए । यसैबीच खत्रीको परिवारलाई सहयोगको ओइरो लागेको छ ।