कलिलै उमेरमा दुवै मृगौला पीडितको उपचारमा विद्यार्थीको आर्थिक सहयोग

0

म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि विद्यार्थील आर्थीक सहयोग गरेका छन् । मगर विद्यार्थी र छन्त्याल विद्यार्थी संघले संयुक्त रुपमा संकलन गरेको ४३ हजार पाँचसय १५ रुपियाँ सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको हो ।

मगर र छन्त्याल विद्यार्थी संघले संयुक्त रुपमा बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र माउन्ट एभरेष्ट बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाको रकमबाट बचाएर सुरेशको उपचारमा सहयोग गरेको छन्त्याल विद्यार्थी संघका सचिव अमर छन्त्यालले बताए । उनका अनुसार प्रकाश माविमा १२ हजार ६ सय पचास र माउन्टमा ३० हजार ८ सय ६५ रुपियाँ संकलन भएको थियो ।

सुरेशको उपचारमा आर्थिक संकलन अभियानलाई जारी राख्ने मगर विद्यार्थी संघकी अध्यक्ष अनु राम्जालीले जानकारी दिईन। सानै उमेमा दुवै मृगौला फेल भएका छन्त्याललाई आर्थिक अवस्थाका कारण उपचारबाट बन्चित नहुन भनेर विद्यार्थीहरुले सहयोग अभियान सञ्चालन गरेको उनले बताईन । आफुहरुको खाजा कटाएर सहयोग गरेको उनले बताए । 
यसै गरि सहयोग हस्तातरण कार्यक्रममा मंगला गाउँपालिका १ कुहुँका लुल वहादुर रोकाले पाँचहजार एकसय ७ रुपियाँ सहयोग गरेका छन् । सुरेशको उपचारमा बेनी नगरपालिका ६ चुत्रेनी घर भई हाल इराकमा रहेका कृष्ण मल्ल ठकुरीको नेतृत्वमा करिव एकलाख रुपियाँ सहयोग संकलन भएको कोषले जनाएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ मा अध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचान भएको थियो । टिचीङ अस्पतालका चिकित्सक कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार भइरहेको पीडितकी आमा सिता छन्त्यालले बताईन । औषधि उपचारका लागि २५ देखि ३० लाख रुपैयाँ आवश्यक पर्ने सिताले बताईन। परिवारले हालसम्म तिन लाख पचास हजार रुपैयाँ खर्च गरिसकेका छन् ।