फलोअफः ‘चिसो भुईमै सुतेर रात काट्छन्’

0

बेनी नगरपालिका–६ फोओठेकी ९ बर्षिया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुईमा सुत्छिन् ।चिसो भुईमा एउटा पुरानो गुन्द्री ओच्छाएर भाईसंगै सुत्छिन् । अहिलेसम्म उनलाई सिरक ओढेर सुतेको अनुभव छैन् । कोठामा रहेको खाटमा ओच्छाउने पातलो दस्ना, पुरानो सिरक र सिरानी हजुरबुबालाई छुट्टाएका छन् । हजुरबुबाको भुईमा सुत्ने प्रस्तावलाई उनीहरुले पटकपटक अस्वीकार गरेपछि ढोकाको छेउमै हरेक रात काट्ने गरेका छन् ।

चिसो भुईमा सुत्ने पुनम र उनका भाई पुजन र छेउमा भाच्चिनै लागेको अर्को खाटमा विद्यालयको प्रधानध्यापकलाई आफुँलाई निष्काशन गर्न चिठी लेखेकी पुजा सुत्ने गरेकी छन्। झट्ट हेर्दा एकजना पनि मुस्किलले सुत्न मुस्किल हुने कोठामा चार जनाले रात विताउने गरेका छन् ।‘मलाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन,‘स्कुल विदाको समयमा दिउँसो हजुरबुबाको खाटमा सुत्छु’ पुनमले कोठाको अवस्था देखाउँदै भनिन् ।

उनले पुरानो गुन्द्रीमा सुत्दा चिसो मौसममा सिरक नहुदाँ हातगोडा, मुख सुन्निने गरेको बताईन् ।‘धेरै रात खाली पेट सुत्ने गरेका छौ,‘हामीलाई मध्यरातमा आएर बुबाले समेत कुटपिट गर्नुहुन्छ’ पुजाले भनिन् । उनले तल्लो तलामा सुत्ने गरेको कोठामा घरबाट निकाल्न बुबाले रातको २ बजे ढोका तोडफोड गरेको बताईन् ।‘चिसो भुँई भएपनि यो ठुलो कोठा थियो,‘बुबाको नाम घर भएकाले उहाँले राती आएर भत्काइदिनुभयो’ ढोका देखाउँदै भनिन् ।

रक्सीले मातेर भाई, बहिनी, हजुरबुबालाई समेत कुटपिट गर्ने गरेका पुजाका बुबा लिला बहादुर गत असार महिना देखी बेपत्ता छन् । ‘हाम्रो लागि त यो दरबार नै हो,‘तपाईहरुलाई भुत बस्ने जस्तो लाग्छ होला’ पुजाले मुसुक्क हाँस्दै भनिन् । टिनले छाएको तीनकोठे घरमा एउटा खाना पकाउने, एउटाको ढोका पुजाका बुबाले तोडफोड र माथिल्लोमा चिसोले समेत बस्न नसक्ने अवस्थाको छ ।‘चिसोबाट बच्न मोजा लगाएर सुत्ने गरेका छौ,‘हामी तीन जनाकै मोजा च्यात्एिको छ’ पुजाले भनिन् ।

उनले विद्यालयमा साथीहरुबाट मुजा लुकाउने प्रयास गरेपनि बेलाबेलामा देखिने गरेको बताईन् ।‘खुट्टा देखी शीरसम्म लगाउने सबै लुगा छैनन्,‘यस्तै समस्या भएर मैले भाईबहिनीलाई राम्रोसंग शिक्षादिक्षा दिन विद्यालयमा नजाने गरी पत्र पठाएकी थिए’ उनले भनिन् ।

रक्सीले मातेर घरमा कुटपिट गर्न आउने बुबा, दुईबर्ष देखी सम्पर्क विहिन भएकी आमालाई उनले निष्ठुरीको संज्ञा दिईन् । ‘आमाबुबाको आश छैन्,‘दुवै आफ्नो जिम्मेबारीबाट पन्छिए, मैले अभिभावकको जिम्मेबारीमा भाईबहिनीलाई सम्हाल्दै छु’ उनले भनिन् । नजिकै छिमेकीबाट पैसो लिएर साउन महिनामा तीनदिन भात पाकाएकी खत्रीले चुल्होमा मामाघरबाट ल्याएको पिठो र छिमेकीले दिएको मैक छन् ।

‘विहान पकाएर बेलुकी पनि त्यही खान्छौ, विहानै सकियो भने बेलुकी भोकै सुत्छौ’ उनले भनिन् । पकाउने भाडाकुडा समेत चुहिने भएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक साम्रागी, लत्ताकपडा, घरमा पढ्ने वातावरण नभएपछि खत्रीले जामुनाखर्क माविका प्रधानध्यापक सोमनाथ ढुंगानालाई चिठी पठाउँदै आफ्नो रोल नं हटाउँदै विद्यालयबाट निष्काशन गर्न अनुरोध गरेको पत्रले पुजार्का सर्वत्र चर्चा भइरहेको छ ।

विद्यालयको अनुरोधमा प्रथम त्रैमासिक परिक्षामा सहभागिता जनाइरहेकी खत्रीले घरायसी अवस्थाकै कारण पढाई छोड्नु परेको बताएपछि उनलाई स्वदेश तथा विदेशबाट सहयोगको अभियान सञ्चालन भइरहेको छ ।‘घरको अवस्था निकै दयनीय छ,‘अपाङ्ग हजुरबुबालाई पनि उनले हेनुपर्छ’ प्रअ ढुंगानाले भने ।

उनले नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोगको अभियान सञ्चालन भइरहेको बताए। ‘जन्मिएदेखी उनीहरुले सास्ती खेप्नुपरेको छ,‘पुजा साहसी बालिका हुन्’ घरमा पुगेर अवलोकन गरेपछि ढुंगानाले भने । उनले एउटा १२ बर्षिया बालिकाले विद्यालयमा पत्र पठाएर घर सम्हाल्न खोज्नु कुनै चानचुने कुरा नभएको ढुंगानाको भनाई छ । ‘उनको जस्तो अवस्था भएका धेरैले आफ्नै ज्यान लिएका घटना छन्,‘उनले पढाई त्याग्ने प्रयास गरिन्, तर घर सम्हाल्ने प्रयासमा जुटिन्’ उनले भने । १२ महिना चिसोबाट बच्न राति आगो बालेर छेउमा रात काट्न गरेको पुजाका हजुरबुबा मान बहादुरले बताए ।

‘एउटा नातिनीलाई सुटुक्कै काठमाण्डौ पु¥याएका छन्,‘उसलाई पनि धेरै यातना दिन्छन भन्ने सुनेको छु’ मानबहादुरले भने । उनले सबैलाई एउटै ठाउँमा राखेर शिक्षादिक्षा दिने वातावरण बनाउन अनुरोध गरे ।‘मेरो छोराबुहारीले आमाबुबाको जिम्मेबारीबाट पन्छिए,‘छोराले मलाई पटकपटक कुटपिट गरेको छ’उनले भने । सुतेको बेलामा मध्यरातमा आतंक मच्चाउन आउने गरेको बताउँदै गाउँलेको सहयोगमा ज्यान जोगाउने गरेको बताए । ‘छोराको नाममा घर पास दिएको छु,‘हामीलाई घरबाट निकाल्न धेरै प्रयास गरेको छ’ उनले भने । गरिवीसंगै आफ्नै छोराको समेत आतंकले खत्रीलाई त्रसित बनाइरहेको छ।