वडा कार्यालयद्वारा ‘सहज शिक्षा कोष’ स्थापना

0

प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका वडानम्बर ६ को वडा कार्यालयले ‘सहज शिक्षा कोष’ स्थापना गरेको छ । आफ्नो वडाभित्र गरिबीको रेखामूनि रहेका सबै बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउनका लागि वडामार्फत कोषको स्थापना गरिएको हो । वडामा रहेका अति गरिब, विपन्न र पारिवारीक बिचलनमा परेका बालबालिकाहरुको शिक्षादिक्षामा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको बेनपा–६ को वडा कार्यालयले जनाएको छ । वडाले स्थापना गरेको कोषमा वडा कार्यालयको बजेटबाट ५० हजार रुपैयाँ जम्मा गरिएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।

उनले कोषबाट प्राप्त व्याजको रकमले शिक्षाको पहुँचबाट बञ्चित भएका बालबालिकाहरुलाई सहयोग गरिने बताएका छन् ।आर्थिक अभावकै कारण विद्यालय जान नसकेका बालबालिकाहरुलाई शैक्षिक पोसाक, कापीकलम, झोलासहित स्टेशनरी सामान उपलब्ध गराइने अध्यक्ष बानियाँको भनाइ छ । कोषमा आगामी दिनमा जिल्लास्थित विभिन्न संघसंस्था, व्यक्ति, कार्यालयबाट पनि सहयोग जुटाइने उनले जानकारी दिए ।

यसैगरी उक्त कोषमा वडा अन्तर्गत रहेका स्थानीय आमा समूह, युवा क्लब, सामुदायिक वन, अन्य संघसंस्थाबाट सहयोग सङ्कलन गरिने भएको छ । आर्थिक रुपमा विपन्न विद्यार्थीलाई सघाउन कोष स्थापना गरिएको हुँदा उक्त कोषमा सहयोग जुटाउन अभियान सञ्चालन गरिने बताइएको छ ।वडाका जनप्रतिनिधिहरुले सामूहिक निर्णय गरेर कोष स्थापना गरिएको अध्यक्ष बानियाँले बताए ।

जनप्रतिनिधि भएवापत वडा अध्यक्ष र सदस्यहरुले पाएको सेवा सुविधाको रकम ५० हजार रुपैयाँ कोषमा जम्मा गरिएको छ । वडामा रहेका जनप्रतिनिधिहरुलाई परिचालन गरेर गरिबीको रेखामूनि रहेका बालबालिकाको तथ्याङ्क लिने योजना अगाडि सारिएको छ । बेनपा ६ वडामा ३ वटा आधारभूत र दुईवटा माध्यमिक विद्यालय छन् ।गएको भदौ १ गते बेनपा–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया पुजा खत्रीले आर्थिक अभावले गर्दा विद्यालयमा आउन नसक्ने भन्दै निष्काशन गरिदिन अनुरोधसहितको मार्मिक पत्र लेखिकी थिइन् । पुजाको जस्तै नियति अन्य बालबालिकाहरुले भोग्न नपरोस् भन्दै वडाले कोष स्थापना गर्न लागेको जानकारी दिएको छ ।