बेनी नगरपालिका–१ रत्नेचौरका खम थापा तीनदिन पैदलयात्रा गरेर अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरबराह मन्दिरमा पुगे। कठिन पदैलयात्रा गरी उच्च हिमाली क्षेत्रमा अवस्थित मन्दिरमा थापासंगै लोकेश पुनमगर र नन्द पाइजा समेत मन्दिरमा पुगे ।

थापा र पाईजा मन्दिरमा पुजा गर्ने उदेश्यले गएपनि पुनले पदयात्राका लागि त्यहाँ पुगेका थिए। आफ्नो मनोकामना पुरा हुन जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी– पोखरेबगर हुदै सयौको संख्यामा भक्तजनहरू मन्दिरमा पुग्ने गरेका छन् । ‘धेरैजसो पहिलोपटक आएका छन्,‘मेरो पुजा हुदैन्, पदयात्राका लागि मात्रै साथीहरुसंगै पुगे’ पुनले बेनीअनलाइनलाई भने ।

उनले बेनी–जोमसोम सडकखण्ड अन्तरगत गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म सवारीसाधनमा पुगेका यूवाहरु त्यहाँबाट पदैलमार्ग हुदै पाउद्धार, खोप्रा, खयरसम्म पुगेका थिए । मनोरम दृष्य, पशुचौपायाका गोठ, नाकै ठोकिने उकालो हुदै खोप्राको सामुदायिक लज हुदै उकालीओराली हुदै खयर क्षेत्रमा पुगेर बास बस्ने गरिन्छ । पहिलो दिन पाउद्धार, दोस्रो दिन खोप्रा, खयर र तेस्रो दिन मन्दिरमा पुगेका थिए ।

मन्दिरमा पुजा तथा फर्किन भक्तजनले पाँच दिन छुट्टाउनुपर्ने भक्तजनको भनाई छ । ‘धेरै लेक लागेरै बीचबाटोमै अलपत्र पर्ने गरेका छन्,‘स्थानीयको सक्रियतामा धेरै ब्यवस्थित भएको छ’ पुजाआजा गरी फर्किएका थापाले भने । उनले ग्रामिण पर्यटनमा खोप्रा सुन्दर गन्तब्य भएकाले पनि घुम्नका लागी आन्तरिक पर्यटक समेत पुग्ने गरेको बताए । भाकल पुरा भएको भन्दै आउनेको भीड रहेको उनले बताए ।

अविवाहित यूवायूवतीलेप विवाह, राहुरे, उच्च शिक्षा, आर्थिक सम्पन्न लगाएत विभिन्न योजनाहरू माग्ने गरेको दृष्य मन्दिरमा देखिएको भक्तजनको भनाई छ । खयरबराहीमा खयर भारानी जलदेवी(अविवाहित),वराही जलदेवी (विवाहित),वराह जलदेवता (पुरुष) सहित खयर भारानीको ९ बहिनीको पुजाआजा गर्ने गरिन्छ । कालि भारानीले अन्नको बर,ग्रोसे भारानीले धनसम्पत्तीको बर र खयरभारानीले धनजन, अन्न र सम्पत्तीको बर पुरा गरिदिने विश्वास रहेकाले पनि विधिपुर्वक पुजाआजा गरिन्छ । ‘एकैजनाले २५ वटा सम्म बली दिएको रेकर्ड छ । धेरैले आफ्नो मनोकामना पुरा भएको बताउँछन्’ मन्दिरका पुजारीले भने । मन्दिरको भेटी सोमबार सार्वजनिक गरिने छ ।