बेनी नगरपालिका–६ भरालेका तुल बहादुर बानियाँले गरिबीकै कारण तीनबर्ष अगाडी घरभित्रै भान्छाकोठाको छेउमा डोरीले पासो लगाएर संसार त्यागे ।एकबर्षे दुधे बालक, दुईछोरीसंगै भोकै सुतेकी सिताले विहान उठ्दा पतिमात्रै गुमाईन् भोकै सुतेका छोराछोरीलाई आँखामा देखेको सपना समेत चकनाचुर भए ।

दैनिक ज्यालामजदुरी गरेर परिवारको गुजरा चलाउँदै आएका तुलबहादुरले एकबर्ष छोराछोरीलाई विहान बेलुकी दुई छाक जोहो गर्न समेत मुस्किल भएपछि परिवारको पीडालाई लुकाउन बाध्य भएर आत्महत्याको बाटो रोजे । छिमेकीलाई मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेपछि पटक–पटक आत्महत्याको प्रयास गरेपनि आफुँले जोगाउने गरेको सिता बानियाँले बताईन् । ‘त्यो दिन पनि हामी भोकै सुतेका थियौं, उहाँ भान्सा नजिकको बेडमा सुत्नु भएको थियो, विहान उठ्दा अचेत अवस्थामा भेटियो‘उनले भनिन् ।

गरिबीका कारण श्रीमानले प्राण त्याग गरेको बताउँदै बानियाँले अहिले पनि विहानबेलुकी हातमुख जोड्न मुस्किल भएको बताईन् ।’उहाँ हुदाँ केही कमाएर ल्याउनुहुन्छ भन्ने आशा लाग्थ्यो, रित्तै आउँदा भोकै सुत्थ्यौ’ बानियाँले भनिन् ।उनले आर्थिक अभावका कारण मानसीक पीडा हुने गरेको बताईन् ।‘मैले छोराछोरीको मायाँले कुनै गलत कदम लिन सकेको छैन्,‘सधै यस्तै अवस्थामा बस्न सकिदैन’ बानियाँले भनिन् । घरभित्र भत्किनै लागेको घर बाहेक सम्पत्ती केही नभएको बताउँदै सहयोगको याचना गरिन् ।

बुबाको मृत्यु भएपछि ८ की इश्वरी,६ बर्षकी सरस्वती र ४ बर्षिय गणेशलाई स्थानीयले खाद्य साम्रागी सहयोग गर्ने गरेका छन् । जमिनको नाममा एक टुक्रा पनि भएपछि गाउँलेले बनाइदिएको घरमा बस्दै आएका बालबालिका निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएको छिमेकी सिता सुबेदीले बताईन् । ‘गाउँकै विपन्न हुन्,‘बर्खाको समयमा पानी चुहिएर रातभरी सुत्दैनन्’ सुबेदीले भनिन् ।

श्रीमानको मृत्यु भएपछि सिताको मानसीक रोगी भएको बताउँदै भौक बस्दा कुनै अप्रिय घटनाको त्रास समेत रहेको बताईन्। ‘केटाकेटीले भात माग्दा अव हामी पनि जानुपर्ने अवस्था आयो भन्दै रुन्छिन,‘यो पीडालाई मलम लगाउन सर्बै क्षेत्रबाट सहयोगको आवश्यकता छ’ उनले भनिन् ।

भराले गाउँका स्थानीयले खाद्य साम्रागी सहित बालबालिकालाई लत्ताकपडा समेत सहयोग गर्ने गरेका छन् ।घरकी जेठी छोरी इश्वरी पढाईमा अब्बल भएपनि घरको अवस्थाले शैक्षिक वातावरणले समेत आर्कषित गर्न सकेको छैन् । गाउँलेको साहरामा बाचेका बालबालिकालाई उचित शिक्षादिक्षा,लत्ताकपडाको आवश्यकता रहेको स्थानीय यूवा रामचन्द्र पौडेलले बताए । ‘घर भत्किनै लागेको छ,‘भित्रका सबै लुगा पानीले भिजेका छन’ पौडेलले भने ।

बर्खाको समयमा टिनबाट पानी चुहिन थालेपछि समान्य मर्मत गरिएको बताए । यता वडा कार्यालयले समेत आर्थिक सहयोगका लागि पहल गरेको छ । वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले परिवारको अवस्था निकै नाजुक भएपछि शिक्षादिक्षा सहित घरको मर्मतमा पहल भइरहको बताए । यसैबीच आर्थिक सहयोग जुटाउन सुन्दर बानियाँ र तेजेन्द्र बानियाँको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिले ७५ हजार २६५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ । त्यस्तै बेनी सामुदायिक माविका शिक्षकले समेत खाजा खर्च कटाएर ११ हजार ६ सय ५० सहयोग गरेका छन् ।

‘राम्रो पढ्छु,धेरै पैसा कमाएर घर बनाउँछु’
उमेरले ८ बर्षमा प्रवेश गरेकी इश्वरीले बुवाले पासो लगाएर कोठामै आत्महत्या गरेको देखिन् । अझैपनि उनले भान्सा कोठामा प्रवेश गर्नेलाई आफ्नो बुबाले प्राण त्याग गरेको ठाउँ देखाउँछिन् । ’बाबा वितेर जानुभयो, मैले धेरै पढ्छु,‘जागिर खान्छु अनि घर बनाउँछु’ इश्वरीले यो कसैले सिकाएर नभई जो घरमा पुगे पनि जिज्ञासा राख्नेलाई आफ्नो भनाई सुनाउँछिन् । घरको भान्सा कोठा देखी सम्पूर्ण समस्यामा उनी जानकार छिन् ।

‘ओढ्ने, ओछ्याउने समेत छैन’ उनले भनिन् । बाबा सुत्ने ठाउँमा जान डर लाग्ने उनले बताईन् । आर्थिक अभावले भोकभोकै बसेपनि उनीहरुले चकचक गदैनन् । बर्षाको समयमा घरको भुईबाट पानी भित्र प्रवेश गर्ने गरेको छ भने घर चुहिन्दा लत्ताकपडा, पुस्तक, कपि भिजाइदिने गरेको इश्वरीको भनाई छ । भान्सा कोठाको छेउमा रहेको एउटा बाकस जस्तै देखिनेमा किताब लुकाएर राख्ने गरेकी छन् ।