एबिसी केबुलबाट विद्युत् वितरण गरी नाङ्गो ताररहित बनाइने

0

सदरमुकाम बेनीमा विद्युतका तार व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले एबिसी केबुलमार्फत सुरक्षित र व्यवस्थितरूपमा विद्युत् वितरण गराउन लागेको प्राधिकरणका बेनी शाखा प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

एबिसी केबुल प्रविधिबाट विद्युत् वितरण गर्दा विद्युतीय दुर्घटनाको जोखिम घट्नुका साथै विद्युत् चोरीसमेत नियन्त्रण हुने जनाइएको छ । नाङ्गो तारमा छोए करेन्ट लागेर दुर्घटना हुने भएकाले वितरण प्रणालीलाई सुदृढीकरण र व्यवस्थित गर्न लागिएको केन्द्रका सहायक इञ्जिनीयर कृष्णप्रसाद शर्माले बताउनुभयो ।

बेनीमा १२ किलोमिटरसम्म एबिसी केबुलबाट विद्युत् वितरण गरेर नाङ्गो ताररहित बनाइने प्राधिकरणले जनाएको छ । नाङ्गो तारभन्दा यो तार बढी तौलको हुने भएकाले पहिले पोल रहेका ठाउँको बीच–बीचमा थप पोल राख्न लागिएको छ । बजार क्षेत्रमा एक सय थप पोल राखिने प्राधिकरणले जनाएको छ ।

यसैबीच बजारको केही ठाउँमा विद्युत्को पोल गाड्न स्थानीयबासीले अवरोध गरेका छन् । आफ्नो घर अगाडि पोल गाड्न नदिने केही स्थानीयवासीको अडान र विरोधका कारण गणेशटोल र पिपलचोक क्षेत्रमा पोल गाड्ने काम अघि बढ्न सकेको छैन । बजारका अन्य क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ ।बेनपा–८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले एबिसी केबुलबाट वितरण गर्ने प्राधिकरणको योजनालाई सफल बनाउन विवाद समाधानका लागि सहजीकरण गरिने बताउनुभयो ।रासस