चारबर्षपछि बेनीमा देखियो रोपाई नाँच(भिडियो)

0

‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौला, बनाई कुलो लगाई पानी आएर गौडौला’.. म्याग्दीको सदरमुकाम बेनीमा मुखियाको निर्देशनमा खेत जोत्ने÷सम्याउने हली, बाउँसे अनि रोपाई गर्ने खेताल्नी बजारमा निस्किए ।

रोपाई गीत र रोपाईमा झल्किने संस्कृति लोप हुन थालेको अवस्थामा हरेक बर्ष नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्र्तरगत आयोजित रोपाई नाचमा जातीय भेषभुषामा यूवायूवतीले विभिन्न भूमिका निर्वाह गरेका थिए ।

प्राचिन नेवारी परम्पराको रुपमा चिनिएको रोपाई नाचमा बाउँसे र खेताल्नी बीचको दोहोरीको घम्साघम्सीले बजारमा रौनकता छाएको थियो ।जनशक्तीको अभावमा चारबर्षसम्म बर्खेनाचमा देखाउन नसकिएको रोपाई नाचमा बाउँसेले कोदाली खन्दै, खेताल्नीले बीउ रोपेको अभियनको बीचमा क्याप्टेन,क्याप्टेनीको भूमिकामा देखिएका एक जोडी, मुखियाको उर्दी, राहुरे दाईले क्यामेराले फोटो खिच्दै गरेको अवस्थामा माझीले जाल हानेको दृष्य हेर्न लायकको थियो ।

साँघुरो बेनीबजारमा पुरानो भाकाको असारे गीतमा निस्किएका कलाकारहरूलाई बटुवाले समेत साथ दिएका थिए। प्राचिनकालमा गाउँमा मुखियाको निर्देशनमा हुने गतिविधि देखिने नाचमा खेतमा रोपाईमा गरिने सबै दृष्यहरु देख्न सकिन्छ ।आधुनिकीकरणले छपक्कै छोपेको नेपाली समाजमा जोक्करको भूमिका, बाद्यबादकको साथ खेतीपातीको समय सकिएपछि रमाईलो गर्न परम्परागत रुपमा गाईजात्राकै रुपमा लिने गरिएको रोपाई नाचमा दुईदशक अगाडीसम्म पुरुष नै महिला भएर खेताल्नी हुने गरेको अवस्थामा पछिल्लो समय यूवापूस्ताको पलायनसंगै स्कुले विद्यार्थीको सहभागितामा निरन्तरता दिने गरिएको छ ।

बाईसे चौबिसे राज्यका पालमा करिव ३ सय बर्ष अगाडी पातलो बस्ती रहेको बेनीमा विभिन्न ठाँउबाट बसाइसराई गरेर आएका नेवार समुदायले सुरू गरेका बर्खे नाचमा रोपाईमा धेरै जनशक्ती र तयारीको आवश्यकता पर्ने भएकाले पनि डेढ दशक यता नियमित सञ्चालनमा समस्या भइरहेको नेपाल भाषा मकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बेनीको स्थानीय संस्कृति दुब्लाउँदै गएकोमा चिन्ता ब्यक्त गदैं उनले नेवार समुदाय बाहेक बाह्मण, क्षेत्री, जनजातीको समेत उपस्थितीमा बर्खे नाचको संरक्षण भइरहेको छ ।

२०७५ लाई म्याग्दी भ्रमण बर्षको अवसरमा जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न बर्खेनाचलाई प्राथमिकता दिइएको छ ।बर्खेनाच अन्तरगत देखाइने गरिएपनि विगतमा जनशक्तीको अभावमा रोकिएको गोरु, रोपाई सहितका विभिन्न नाचलाई नियमित सञ्चालन गर्न बेनीबजारका अगुवाहरुले आर्थिक सहयोग सहित ब्यवस्थापनमा समेत सक्रियता देखाएका छन् । वि.श २०१२ सालमा सूर्यनारायण श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ, अंगद श्रेष्ठ, अबीरकुमार श्रेष्ठ लगाएतले बर्खे नाचलाई निरन्तरता दिन विषेश योगदान खेलेका थिए ।