गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले विभिन्न क्षेत्रसंग सहकार्य गरी गण्डकी प्रदेशलाई नेपालकै समृद्ध प्रदेशको बनाउने बताए । निजी क्षेत्रसंग सहकार्य गरे मात्रै विकास र समृद्धि सम्भव भएको बताउँदै मन्त्री लम्सालले गण्डकी प्रदेशमा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर प्रदेशलाई समृद्ध बनाउने योजना बनाइएको बताए । शनिवार म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रमले प्रदेशलाई आर्थिक रुपमै सक्षम बनाउने बताए ।

पर्यटन,वन,जलस्रोत र कृषि क्षेत्रमा लगानीको अनुकुल वातावरण तयार पार्नका लागि आवश्यक कानुनहरुको निर्माणमा प्रदेश सरकार जुटेको बताए । उद्योगमैत्री वातावरण तयार पारि लगानी भित्राउने योजना प्रदेश सरकारले बनाउन लागेको मन्त्री लम्सालले बताए । ‘विगतमा आर्थिक एजेन्डा ओझेलमा परेका थिए,‘तीनै तहको निर्वाचनले आर्थिक मुद्धालाई नै प्राथमिकता दिएको छ’ उनले भने ।

उद्योग,वन, वातावरण नीति चाँढै बनाउन प्रदेश सरकार जुटेको बताउँदै प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधारको विकास, खानी, बनजंगलको सदुपयोग गर्ने बताए । उनले चालु आवमा होमस्टेको विकासका लागि ३० करोड बजेट विनियोजन गरेको बताए ।मन्त्री लम्सालले संघिय सरकारले अवरोध नगरेमा प्रदेशमा विकास गरेर देखाइदिने दावी समेत गरे। जनतालाई कर तिर्न सक्ने बनाएर मात्र स्थानीय सरकारले कर लिनुपर्ने उनको भनाई छ ।

मन्त्री लम्सालले कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रुपमा लैजान सकेमा गण्डकी प्रदेशको विकासको ढोका खुल्ने बताए ।यसैगरि प्रदेश सांसद विनोद केसीले म्याग्दीमा भएका स्रोतहरुलाई परिचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्रप्रकास ढकालले निजी क्षेत्रलाई साझेदारीका रुपमा लिएर सरकार अघि वढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,नेकपाका नेता हरिकृष्ण श्रेष्ठ,नोपली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी,बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइराला,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसै गरि आइएलओका कार्यक्रम संयोजक प्रकाश शर्मा, उवास संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ,म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, विभिन्न संघसंस्थाका तर्फबाट रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरज केसीले साधारसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।उवासंघका अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षता,कर्मचार्यकै स्वागत र महासचिव लिलाराम गौतमको सञ्चालनमा उद्घाटन सत्र सञ्चालन भएको थियो ।