जिल्लामा सबैभन्दा धेरै ५१ औं पटक रक्तदान गर्ने एक ब्यक्ति सम्मानित भएका छन् । जिल्लामा रक्तदान अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेका रक्तसञ्चार केन्द्रका संयोजक समेत रहेका सुरत केसीलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५६ औं स्थापना दिवसका अवसरमा आयोजना रक्तदान कार्यक्रमका बीचमा सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष समेत रहेका केसीलाई रेडक्रसका सभापति लेखवहादुर हमाल र मन्त्री यामवहादुर चोखालले केसीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । मानवीय सेवाको नमुना उदाहरणको रुपमा चिनिने रक्तदानका लागि केसीले समेत प्रोत्साहन गर्ने गरेको रेडक्रस म्याग्दीका सभापति हमालले बताए ।

रेडक्रस म्याग्दीका उपमन्त्री समेत रहेका केसीले २०५३ सालमा काठमाण्डौमा आयोजित कार्यक्रममा पहिलोपटक रक्तदान गरेका थिए । रेडक्रसद्धारा बेनी अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा ४३ पटक रक्तदान गरेको केसीले बताए । ‘जिल्लामा रगत अभावकै कारण एकदशक यता एकजनाले पनि ज्यान गुमाउनुपरेको छैन्,‘पोखरासम्म यहाँबाटै पठाउने गरेका छौ’ केसीले भने ।

उनले विद्यार्थी उमेरमै रक्तदान प्रतिको आर्कषणले भविस्यमा पनि रगतको अभाव नहुने बताए । जिल्लामा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेपछि डेढसय पिन्ट जिल्ला बाहिर पठाउने गरिएको छ ।जिल्लामा स्वयंसेवी रक्तदाता समाज समेत गठनमा केसीले पहल गरेका थिए ।