पुजाको मार्मिक पत्र गण्डकी प्रदेशसभामा स्थान पायो

0

चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीको समस्याले गण्डकी प्रदेशसभामा स्थान पाएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा म्याग्दीका प्रदेशसभा सदस्य विनोद केसीले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पठनपाठनमा समस्या भइरहेको बताउँदै गरिवीले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीको पठनपाठनमा गम्भीर समस्यालाई प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

‘मेरो निर्वाचन क्षेत्रकी एक बालिकाले लेखेको पत्र अहिले संसारभरी चर्चामा छ,‘उनको अवस्थालाई आधार बनाएर अव शैक्षिक क्षेत्रमा नयाँ सुधार गर्नुपर्छ’ केसीले भने । उनले गरिबीका कारण आमा र बुबाले समेत घर छोडेर अलपत्र परेकी पुजाले विद्यालयबाटै निष्काशन गर्न गरेको अनुरोधले शैक्षिक क्षेत्रको सुधारमा नयाँ बहस सुरु भएको बताए ।‘बालबालिकाले पेटभरी खान पाएका छैनन्, उनीहरुसंग प्रयाप्त शैक्षिक साम्रागी पनि छैन’केसीले भने ।

उनले घरायसी झगडा, आमाबुबाले सम्बन्ध विच्छेद, सम्पर्कविहिन हुने जस्ता समस्याले बालबालिकामा गम्भीर असर परेको बताउँदै बेसाहरा बालबालिकालाई घर देखी विद्यालयसम्मको समस्यामा सरकारले सुविधा उपलब्ध गराउनुपर्ने बताए ।उनले पुजाको पत्रले गरिवीका कारण विद्यालय छोड्ने बालबालिकाको अवस्थालाई समेत प्रतिनिधित्व गरेको बताए । यसैबीच सांसद केसीले बेनीअनलाइनसंग थप कुराकानी गदैं प्रदेश सरकारलाई समेत थप ध्यानर्कषण गराउने बताए । सांसद केसीले दैनिक जनजिवनसंग सम्बन्धि समस्यालाई बैठकबाट प्रदेश सरकारको ध्यानार्कषण गराउने गरेका छन् ।