स्वर्गीय श्रीमान र पिताको सम्झनामा एक परिवारले गरिबीका कारण शिक्षाबाट बन्चित भएकी एक बालिकाको शिक्षादिक्षामा सहयोग गरेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटकी डम्बर कुमारी र छोरी दुर्गा केसीले स्वर्गीय पदमलाल शर्माको चौथो बार्षिक पुण्यतिथीको अवसरमामा चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्री र उनका भाईबहिनीको शिक्षादिक्षामा ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

‘रकम सानो भएपनि पीडितलाई राहत मिल्ने छ,‘आर्थिक अभावकै कारण शिक्षादिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ दुर्गा केसीले भनिन् । उनले विगतमा समेत स्वर्गीय बुबाको स्मृतिमा ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रम गरेकी थिईन् । बेनीअनलाइनले पुजाले प्रधानध्यापकलाई लेखेको पत्र सहित समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशबाट सहयोगको आइरो लागेको छ ।

आर्थिक अभावका कारण परिवार छोडेर सम्पर्कविहिन भएकी आमा र रक्सीले मातेर दैनिकजसो कुटपिट गर्ने बुबाको त्रासमा रहेकी पुजाले गाउँघरमा आर्थिक सहयोग जुटाएर घरखर्च सञ्चालन गर्ने गरेकी थिईन् ।बृद्ध हजुरबुबा, भाईबहिनीको रेखदेख, विहान बेलुकी हातमुख जोड्न समेत गाउँघरमा माग्न हिड्नुपर्ने भएकाले विद्यालयमा प्रयाप्त समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्रको सबैको ध्यान तानेको थियो ।