७६ वर्षिय बृद्धको युवा जोस

0

सामान्यतया ६० वर्षको उमेर पार गरिसकेपछि मानिसले आफू वृद्ध भएको भन्ठानी शारिरीक र मानसिक रुपमा कमजोर महशुस गर्दछ । जागिर वा रोजगारीमा भएको व्यक्ति सेवा निवृत हुन्छ भने अन्य क्षेत्रमा रहेका व्यक्तिले अनुत्पादक काममा नै समय व्यतित गरिरहेका हुन्छन् । तर बेनी बजारको इन्द्रेणी टोलका ७६ वर्षिय नैनकुमार श्रेष्ठको दैनिकी भने आम वृद्ध व्यक्तिहरुको भन्दा बेग्लै र अनुकरणीय छ ।

विहान ४ बजे उठेर १ घण्टा जप,ध्यान र श्रीमद्भागवत गीता पाठ गरिसकेपछि श्रेष्ठको कर्मशील दिनचर्या शुरु हुन्छ । श्रेष्ठका घरमा दुई श्रीमती,एक छोरा र एक छोरी हुनुहुन्छ । श्रीमती र छोराछोरीहरु नउठ्दै श्रेष्ठ उठेर भाँडा सफा गर्ने,घर बढार्ने,पोछा लगाउने जस्ता गृहिणीले गर्नुपर्ने काम सम्पन्न गरी आफ्नै घरको छतमा रोपेका फलफूल र तरकारीको गोडमेल र रेखदेखमा लाग्नुहुन्छ । घरको छतमा झुण्डिएका घिरौलाले ७६ वर्षिय श्रेष्ठको जाँगर र युवा जोसको परिचय दिइरहेझैं लाग्दछ ।

विहान १० बजे खाना खाएपछि शुरु हुन्छ श्रेष्ठको सामाजिक दिनचर्या । आर्थिक,शैक्षिक,धार्मिक र सामाजिक क्षेत्रका गरी विभिन्न १० वटा संस्थामा संलग्न रही सक्रिय बन्नुभएका श्रेष्ठ बृद्धहरुका लागि उदाहरणीय मात्र हुनुहुन्न सामाजिक क्षेत्रका अभियन्ता नै भन्दा पनि कुनै अत्युक्ति हुँदैन ।

‘म मान सम्मान र लाभ लिनका लागि कुनै संस्थामा बसेको होइन’ श्रेष्ठले भन्नुभयो ‘स्वस्थ रहेर बाचुन्जेल समाजका लागि केही गर्ने हुट्हुटीका कारण करिव १ दर्जन संघसंस्थाहरुमा संलग्न छु ।’ म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्य समेत रहनुभएका श्रेष्ठले भन्नुभयो‘निश्कृय बस्यो भन्यो बुढ्यौली कहरपूर्ण हुन्छ,सक्रिय भयो भने यही बुढ्यौली रहर लाग्दो हुँदोरहेछ।

विहान ४ बजेदेखि राती ९ बजेसम्म गृहस्थी र समाजसेवाका काममा व्यस्त रहने श्रेष्ठ उमेरका कारण बृद्धावस्थामा पुगेपनि जोस र जाँगर हेर्दा युवा जस्तै लाग्नुहुन्छ । कृषिकर्मदेखि धर्मकर्म र सामाजिक तथा राजनीतिक कार्यहरुमा समेत संलग्न रहनुभएका श्रेष्ठ अहिलेसम्म आँफू स्वस्थ नै रहेको बताउनुहुन्छ । खुट्टा दुख्ने समस्याका कारण अलि अप्ठ्यारो महशुस भएपनि यसैका कारणले कुनै काममा व्यवधान भने नआएको उहाँको भनाइरहेको छ ।