म्याग्दीकी थममाया पुन मुलुककै उत्कृष्ट शिक्षक

0

म्याग्दीकी थममाया पुन मुलुककै उत्कृष्ट शिक्षक बनेकी छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार माविकी प्रधानध्यापक पुनलाई यसवर्ष पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ पुनलाई प्रदान गरिएको हो । जिल्लाको ग्रामिण क्षेत्रमा महिलाको नेतृत्वमा नमुना विद्यालय बनाउन सफल भएकी पुनले पाउद्धार माविलाई शैक्षिक तथा भौतिक पूर्वाधार विस्तारमा लेखेको भूमिकाको उच्च मुल्याङ्कन गदै सम्मान गरिएको थियो ।

पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोटमा पुनलाई सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो । शिखको पाउद्धारमा आधारभुत तह देखी माविस्तरसम्म शैक्षिक गुणस्तर, विद्यालयको आन्तरिक आम्दानीका साथै समुदायलाई समेत शैक्षिक गतिविधिमा सक्रिय बनाउन दिनरात खटिने गरेकी पुनलाई जिल्लाका सामुदायिक विद्यालयमा समेत अब्बल प्रधानध्यापकको रुपमा चिनिदैं आएको छ ।

उनले विद्यालयमा शैक्षिक, भौतिक पूर्वाधार संगै आन्तरिक आम्दानीको रुपमा विस्तार गरिएको चौरीपालन, चिज उद्योगका साथै विभिन्न माध्यमबाट चन्दा संकलन कार्यमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेकी थिईन् । दुर्गम क्षेत्र भएपनि पाउद्धार मावि करिव एकदशक अगाडी देखिनै चर्चामा रहेको विद्यालय मानिन्छ । सुचना र प्रविधिको अभाव भएपनि पुनले विद्यालयको नेतृत्व गरेको केहीबर्षमै ब्यापक परिवर्तन आएकाले पनि महिलाले नेतृत्व गरेका विद्यालय नमुना हुन्छ भन्ने उदाहरण समेत बनेकी थिईन् ।

पुरस्कारबाट सम्मानित भएपछि पुनले आफ्नो जिम्मेबारी थपिएको बताईन्। ‘अझै राम्रो गर्ने छु,‘आफ्नो मेहनतको मुल्याङ्कले थप उर्जा मिलेको छ’ पुनले बेनीअनलाइनलाई भनिन् । प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार सहित ५० हजार नगद र सात प्रदेशमा एकरएक जनालाई उत्कृष्ट शिक्षक पुरस्कार सहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

साथै २०७४ सालदेखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्न सुरु गरिएको छ । पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी.पी. प्रसाई प्रतिष्ठानको स्थापना गरिएको हो । प्रसाईंको आजकै दिन वि.सं २०५६ भदौ २० (५ सेप्टेम्वर १९९९) मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।