जिल्लाको सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ ।नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत बिहिबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको आर्कषक मानिएको जोगी नाचमा शिव, पार्वती, जोगीका विभिन्न रूपमा कलिला बालक देखी बृद्धबृद्धासम्मले ताण्डप नृत्य सहित कलाकारहरु सहित नाच देखाएका थिए ।

जनशक्ती र तयारीको अभावमा हरेक बर्ष देखाउन मुस्किल हुने गरेको जोगी नाच बजारमा ल्याउनुपूर्व महादेव र पार्वतकीो पूजा गरी उनीहरुलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर बजारमा नचाउने गरिएको जोगी नाचका संयोजक ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए । ‘७० बर्ष नाघेका बृद्धहरु समेत नाचमा सहभागी थिए,‘यूवापुस्ताको पनि आर्कषण उस्तै छ’ उनले भने । विधि अनुसार नाच प्रस्तुत गरेमा बर्षभरि कुलको सुरक्षा हुने विश्वास समेत रहेको उनको भनाई छ ।

जोगी बन्नेले महादेवकै जस्तो जटा बनाउने, शरीरमा भष्म लेपन गर्ने, शरीरमा विभिन्न आकृति बनाएर नाच्नुका साथै घरघरमा पुगेका भिक्षा  समेत माग्ने चलन रहेको छ । ‘बर्खेनाचमा अर्थ संकलनको हिसावले पनि जोगी नाचलाई महत्वपूर्ण मानिन्छ,‘भिक्षा मागेर संकलन भएको रकमले खर्च ब्यवस्थापनमा सहज हुन्छ’ नेपाल भाषा मंका खःल अन्तर्गत रहेको युवा समिति ल्याम्ह पुचःका अध्यक्ष सुविन श्रेष्ठले भने । उनले नाचको तयारी तथा ब्यवस्थापनमा नै खर्च हुने भएपनि नियमित सञ्चालन गर्न नसक्नुको प्रमुख कारण जनशत्ती नै भएको बताए ।

जिल्लामा विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गरिरहेका तथा जनप्रतिनिधिहरु समेत नाचमा सहभागि थिए।
कलाकारहरुले बजारका विभिन्न घरघरमा पुगी आर्शिवाद र भिक्षा लिने गरेको दृष्य हेर्न लायकको थियो । बजारमा एक्कासी जोगीको भेषमा एक्कासी बजारमा निस्किएपछि केही मानिस भने अचम्ममा परेका छन् । गत साउनमा घण्टाकर्ण चतुर्दशीका दिनबाट शुरु भएको वर्षेनाच अन्तर्गत लाखेनाच, नागनागीनी नाच, गोरुनाच, रोपाइँ नाच र जोगी लगायतका नाचहरु प्रदर्शन भइरहेको छ ।

झण्डै एक महिनासम्म देखाइने वर्षेनाच तीजको दिनमा दानव स्वरुपको लाखेलाई भगवान श्रीकृष्णनले बध गरेपछि असत्यमाथि सत्यको विजय भएको सन्देशसहित समापन गर्ने प्रचलन रहिआएको छ । स्थानीय नेवार अगुवाका अनुसार पर्वते राजाको पालामा जोगी नाचको थालनी बताउने गरेका छन् । यसबर्ष म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन जनशक्तीको अभावमा रोकिएको गोरु, रोपाई, जोगी लगाएतका नाच प्रस्तुत गरिएको छ ।