जन्मदिनको खर्च कटाएर पुजालाई सहयोग

जन्मदिनको अवसरमा पर्वतका एक ब्यक्तिले जन्मदिनको खर्च कटाएर बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई सहयोग गरेका छन् ।

चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी खत्रीलाई पर्वत जिल्ला जलजला गाउँपालिका २ रखाल विसौना घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका डेग बहादुर जिसीले १० हजार सहयोग गरेका हुन् । आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित भएको मार्मिक पत्र लेखेकी खत्री सहित उनका भाईबहिनीको अवस्थामा सुधार ल्याउन श्रीमानको जन्मदिनको अवसरमा सहयोग गरेको वडा सदस्य समेत रहेकी भगवती जिसीले बताईन् ।

‘सानो सहयोगले उनको शिक्षादिक्षामा सहज हुने अपेक्षा गरेको छु,‘आर्थिक अभावले शिक्षाबाटै बन्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि पनि सहयोग गरिएको छ’जिसीले भनिन् ।जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्रले सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो।