दुवै आँखाले देख्न छोडेपछि २६ वर्षिय सुकवहादुर सुनारका लागि संसारै अन्धकार

0
172

रुमानी कल्पना र शैलानी रहरहरु सजाउदै गृहस्थी जीवनमा रमाउने बेलामा म्याग्दीका एक २६ वर्षिय युवा आफ्नो जीन्दगीलाई सराप्दै अरुको सहारामा बाँच्न बाध्य भएका छन् ।म्याग्दीको मालिका गाउँपालिका देविस्थानका सुकबहादुर सुनारका लागि दुई वर्ष अघिदेखि दिन र रात एकै भएका छन् । केही कमाइ गरेर घर परिवारलाई सुखमा राख्ने अभिलाशा बोकेर रोजगारीका लागि साउदी अरब गएका सुनार कमाएर होइन आँखाको दृष्टि नै गुमाएर घर फर्केपछि उनको संसारमा अन्धकार छाएको छ ।

सुनारलाई दुई वर्ष अघि साउदी अरबको एक कम्पनिमा सुरक्षा गार्डको काम गर्ने बेलामा आँखामा समस्या देखिएपछि कम्पनिले नेपाल फिर्ता गरिदिएको हो । श्रीमती, एक छोरी र बृद्ध बुबा आमाको सम्पूर्ण जिम्मेवारी लिनु पर्ने बेलामा आँखाको दृष्टि गुमेपछि सुनार अहिले बुबा आमाको सहारामा बाँच्न बाध्य भएका छन् । अत्यन्त कमजोर आर्थिक अवस्था भएका सुनारको परिवारमा पीडा थपिएको छ।

श्रीमानको दुबै आँखाको दृष्टि गुमेर कमाइ गर्न नसक्ने भएपछि सुनारकी श्रीमती छोरी सहित माइतमा बस्दै आएकी र सुकवहादुरको हेरचाह गर्ने उनका बृद्धबुबाआमाबाहेक अरु कोही नभएको लायन्स क्लव अफ बेनी महारानीका अध्यक्ष हिरा पौडेलले बताउनुभयो ।अध्यक्ष पौडेलका अनुसार सुनारको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले परिवारले उनको उपचार गर्न सक्दैन । विहान खाए बेलुका के खाउँको अवस्थामा परिवार रहेको छ ।

उदारमना व्यक्ति वा संघसंस्थाबाट सहयोग भएमा सुनारको आँखाको उपचार हुने सम्भावना भने बाँकी नै रहेको पौडेलको भनाइ छ । लायन्स क्लव अफ महारानीले सुनारलाई नगद पाँच हजार रुपैयाँ र सेतो छडी सहयोग गरेको पौडेलले बताउनुभयो । सुनारको उपचारका लागि सवैले यथाशक्य सहयोग गरि दृष्टि प्रदान गन पौडेलले सबैसंग आग्रह गर्नुभएको छ ।