मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था म्याग्दीको शनिबार बेनीमा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा दण्डपाणि सापकोटा, सचिवमा डण्डपाणि पराजुली, कोषाध्यक्षमा चिरञ्जीवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित भएका छन् ।

यसैगरी वरिष्ठ सदस्यमा देवी केसी, सदस्यहरुमा चन्द्रबहादुर शेरचन, पदमबहादुर खत्री, दिपेन्द्र विश्वकर्मा, कोमलप्रसाद ढुङ्गाना र टेकप्रसाद सापकोटा चयन भएका छन् । त्यस्तै लेखा संयोजकमा नारायणप्रसाद सुवेदी, सदस्यमा अमर केसी र त्रिविक्रम शर्मा तथा वरिष्ठ सल्लाहकारमा शेरबहादुर केसी एवं कोषानन्द आचार्य चयन भएको नवनिर्वाचित अध्यक्ष लिलाराम गौतमले जानकारी दिए ।

संस्थाले साधारणसभाको अवसरमा गत शैक्षिक सत्र २०७४ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तानहरुमध्ये विश्वास केसी र विपना केसीलाई सम्मान गरेको छ । यसैगरी संस्थामा उत्कृष्ट कारोबार गर्नेहरु रमेश शर्मा भूषाल, सरस्वती चापागाईं, सितल थापा, राधिका कँडेल, रामदास बैरागी र उत्कृष्ट कर्मचारी कार्यालय सहायक दिलकुमारी शेरबुजालाई सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका निवर्तमान सचिव दण्डपाणि सापकोटाले प्रगति र कार्यवाहक कोषाध्यक्ष चिरञ्जीवी बोगटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।यसअघि साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दीपक कार्कीले सहकारी संस्थाले उत्पादन तथा व्यवसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका थिए । उनले सबैको सहकार्य र समन्वयबाट मात्रै सहकारी अगाडि बढ्न सक्ने भएकाले सहकारीले दिनदुःखी, गरिब तथा विपन्न वर्गको उत्थानमा सहयोग तथा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बेनी नगरपालिका–६ का वडा अध्यक्ष एवं बेनी नगर कार्यपालिकाका आर्थिक विकास संयोजक कृष्णबहादुर बानियाँ, विश्वामित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामबहादुर बानियाँ, अर्थुङ्गे बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सोमनाथ ढुङ्गाना, सहकारीका पूर्व अध्यक्ष कोषानन्द आचार्य र शेयर सदस्य कोमलप्रसाद ढुङ्गानाले मन्तव्य राखेका थिए। कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लिलाराम गौतमको स्वागत र सचिव दण्डपाणि सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।