हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आइतबार बाबियाचौरमा तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय प्रतियोगिता गरिएको हो ।

माध्यमिक र आधारभूत गरी ११ ओटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा महेन्द्ररत्न आधारभूत विद्यालय थर्पु प्रथम, त्रिभुवन मंगला मावि ¥यालेखोर द्वितीय, शिशुकल्याण मावि अर्मन तृतीय र अन्य सहभागी विद्यालयलाई सान्त्वनाको रुपमा पुरस्कृत गरिएको आयोजकले जनाएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले चाडपर्वलाई भड्किलो भन्दापनि कला संस्कृतिको जर्गना गर्ने हिसाबले मनाउनुपर्ने बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पछिल्लो समय तीजमा मौलिकता हराउँदै जान थालेको हुँदा संरक्षणमा लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा कलाकारद्वय मिलन विश्वकर्मा र ध्रुव जिसीले साङ्गीतिक प्रस्तुती दिएका थिए ।

प्रतियोगिताको गायकद्वय विश्वकर्मा, जिसी र गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता, स्रोतव्यक्ति डेकबहादुर बानियाँको सञ्चालन र शिक्षा समिति सदस्य देवी पूर्जाको स्वागतमा सम्पन्न कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको विशिष्ट आतिथ्य रहेको थियो । तीजको अवसरमा आयोजित प्रतियोगितामा दर खुवाउनुका साथै नाचगान समेत प्रस्तुत गरिएको थियो । केपी सापकोटा