म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको अन्तर माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि र गलेश्वर आर्दश मावि फाइनलमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा माउन्टले न्यू वेष्ट प्वाइन्टलाईृ शुन्यका विरुद्ध १ गोल गरेर फाइनलमा प्रवेश गरेको हो । बुद्ध एकेडेमी र गलेश्वर आदर्श मावि विच भएको खेलमा गलेश्वरले बुद्धलाई १ का विरुद्ध ३ गोल गर्दै फाइनलमा प्रवेश गरेको छ ।

यस्तै सोमवार भएका खेलमा लिटिल गार्डेन एकेडेमी र बुद्ध एकेडेमी बगरफाँट बीचमा भएको खेलमा लिटिल गार्डेन ०– २ ले पराजित गरेको थियो । बेनी वोर्डिङ र वेष्ट प्वाईन्ट विच भएको खेलमा वेष्ट प्वाइन्टले बेनी बोर्डिङलाई शुन्यका विरुद्ध ५ गोल गरेको थियो । म्याग्दी बहुमुखी क्याम्पस र माउन्टका बीचको खेलमा माउन्टले शून्य विरुद्ध १ गोल गरेको थियो ।

बेनी सामुदायिक र गलेश्वर आदर्श मावि विच भएको खेलमा पनि गलेश्वरले बेनी सामुदायिकलाई शुन्य विरुद्ध ४ गोल गरेको थियो।  म्याग्दी एकेडेमी र बुद्ध एकेडेमी विच भएको खेलमा बुद्ध एकेडेमीले म्याग्दी एकेडेमीलाई शून्यका विरुद्ध एक गोल गर्न सफल भएको थियो । मंगलबार विहान ८ बजे जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र खेल शिक्षकहरु विच मैत्रीपूर्ण खेल हुने र त्यसपछि फाइनलखेल खेलाइने खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

उनका अनुसार छात्रा फुटबल प्रतियोगिताबाट खेलाडीको पहिचान भएको बताउँदै थप खेलका लागि समेत प्रोत्साहन गरिने बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्धितिय १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वा्धिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २५ सय र अनुशासित टिमलाई चारहजार रुपियाँ मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।