जसले गरे पूजा खत्री परिवारलाई बार्षिक ३ लाख सहयोग

विद्यालयका प्रधानध्यापकलाई मार्मिक पत्र लेखेर विश्वभरका नेपालीलाई रुवाएकी म्याग्दीकी पूजा खत्रीको परिवारलाई अमेरिकामा रहेका एक दम्पत्तीले बार्षिक ३ लाख सहयोग गरेका छन् । बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीका अपाङ्ग हजुरबुबा, तीनभाई बहिनीलाई तेह्थुम जिल्ला मेन्छयायेम गाउँपालिका स्थायी घरभई हाल अमेरिकाको न्यूर्योगमा बसोबास गर्ने हेम र मायाँ थापाले बार्षिक ३ लाख सहयोग गर्ने प्रतिबद्धता कार्यान्वयन गरेका हुन् ।

बर्षेनी लाखौं सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने गरेका थापा दम्पत्तीले खत्री सहित तीनभाई बहिनीलाई शिक्षादिक्षा सहित हजुबुबाको रेखदेखमा समेत खर्च हुने गरी मासिक २५ हजारको दरले सहयोगको घोषणा गरेका थिए ।गाउँको जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्र बेनी अनलाइन,नागरिक दैनिक, न्यूज २४ टेलिभिजनबाट प्रशारण तथा प्रकाशित भएपछि थापाले गरेको घोषणालाई कार्यान्वयन गदैं पूजाका भाईबहिनीलाई बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा आवासीय सुविधा सहित भर्ना गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा थापाले आफ्ना भतिज श्याम थापा र जमुना राईको उपस्थितीमा बार्षिक सहयोग अन्तरगत १ लाख नगद हस्तान्तरण गदैं पूजाका बहिनी पुष्पा, पुनम र पुजनलाई आवासीय सुविधा सहित कक्षा १२ सम्मको शिक्षादिक्षाको जिम्मा लिदै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेमका भतिज श्याम थापाले बेष्ट प्वाइन्टलाई भाईबहिनीलाई मासिक १५ हजार, पूजा र हजुरबुबालाई १० हजार सहयोग उपलब्ध गराउने बताए । करारपत्रमा विद्यालयकी प्रधानध्यापक बिना झा, समाजसेवी थापाको तर्फबाट २ जनाले ९ बुँदे हस्ताक्षर गरेका थिए । सम्झौतामा तीनजना बालबालिकाको कक्षा १२ को परिक्षा दिएपछि करार समाप्त हुने जनाइएको छ ।

यसैबीच बेनीअनलाइनसंग कुराकानी गदैं समाजसेवी थापाले आफुँले गरेको प्रतिबद्धतालाई पुरा गर्ने बताए । ‘म धनी मान्छे होइन्, मैले गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छु’ थापाले भने । आफुँले दैनिक मजदुरी गरेर संकलन गरेको रकमलाई सहयोग गर्ने बताउँदै आर्थिक सहयोगको सदुपयोग गरिदिन अनुरोध गरे । उनले पूजा र उनका भाईबहिनीलाई प्रतिबद्धता बाहेक पनि सहयोग गर्ने बताए । खत्री परिवारलाई थापाको सहयोग कक्षा १२ सम्म न्यूनतम ३६ लाखसम्म पुग्ने छ ।