हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा मङ्गलबार म्याग्दीमा खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ। धौलागिरी नाट्य समूह म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा सदरमुकाम बेनीमा खुल्ला तीजगीत एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो ।

खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले चाडपर्वलाई व्यवस्थित र मर्यादित तबरले मनाउनुपर्ने बताइन् । उनले पछिल्लो समय चाडपर्वका नाममा अनावश्यक खर्च बढेको र भड्किलो बन्दै गैरहेको बताउँदै यसलाई रोक्नुपर्ने बताएकी छिन् । चाडपर्व मनाउने क्रममा परम्परालाई निरन्तरता दिनुका साथै कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने उपप्रमुख बरुवालको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले चाडपर्वका नाममा हुने बिकृति र विसङ्गतिलाई रोक्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएकी थिइन् । उनले चाडपर्वलाई एकापसमा सद्भावको रुपमा विकास गरेर मनाउनुपर्ने भन्दै चाडपर्वमा कम खर्च गर्नुपर्ने बताइन् ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले विगत केही समययता तीजमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।आईएमई लाइफ ईन्स्योरेन्स बागलुङ शाखाका प्रमुख जमुना आचार्य र महारानी क्षेत्र विकास कोषका अध्यक्ष अमृतदेवी बानियाँले देशैभरी महिला हिंसा बढिरहेको बताउँदै समाजमा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएका थिए । कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरितालिका तीज पर्वको अवसर पारेर तीजगीत प्रतियोगिता आयोजना गरिएको धौलागिरी नाट्य समूह म्याग्दीले जनाएको छ ।

प्रतियोगितामा भाग लिएका प्रतिस्पर्धी समूहहरुले देशमा बढिरहेको महिला हिंसाका विषयवस्तुमा आधारित रहेर सन्देशमूलक तीजगीत गाएका थिए । प्रतियोगितामा भाग लिनका लागि जिल्लाको गाउँगाउँबाट महिलाहरु बेनी झरेका थिए।कुल १६ समूह सहभागी भएको प्रतियोगिताबाट रघुगंगा–१, बेगखोलाका टीका गर्बुजा र सीमा गर्बुजाको समूह प्रथम, नमस्ते डिजिटल फोटो स्टुडियोबाट मिलन विश्वकर्माको समूह द्वितीय, जलजला–३, पर्वतका सन्तोष परियार र अस्मी परियारको समूह तृतीय तथा बेनपा–२, बगरफाँटको प्रगति आमा समूह सान्त्वना भएका छन् ।

विजयी समूहलाई क्रमशः नगद १२ हजार, आठहजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसी, द्वितीय उपाध्यक्ष ध्रुव जिसी र अग्रज कलाकार धनकुमारी थापाले निर्णायक भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु चिना थापामगर, अमृता श्रीपाल, शान्ता परियारले बेजोड प्रस्तुती दिएका थिए । कार्यक्रम धौलागिरी नाट्य समूहका अध्यक्ष रवि कार्कीको अध्यक्षता, सचिव अमित विश्वकर्मा र सदस्य पदम विश्वकर्माको सञ्चालन तथा कोषाध्यक्ष सविना पौडेलको स्वागतमा सम्पन्न भएको थियो