मंगलबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।सदरमुकाम बेनीदेखी २३ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेदेखि ३६ किमी मुस्ताङको घाँसा खण्डमा झरेका दर्जनबढी पहिरोले यातायात पूर्ण अवरुद्ध भएको हो ।बेगखोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध छ ।
यातायात रोकिएपछि सयौं यात्रु अलपत्र छन् । बाढीले कटान गर्दा रुप्सेखोला माथीको मोटरपुल जोखिममा परेको छ । पहिरोले पुलको एकापट्टीको फाउण्डेसन भत्कन लागेको छ । ‘म्याग्दी–मुस्ताङ सिमावर्ती १३ किमी खण्डमा बाढी पहिरोले सडक क्षतविच्छत भएको छ । म्याग्दीतर्फ गुईठे, द्वारीखोला, रुप्सेछहरा, काप्रे, बाँदरजुङ्ग र घाँसाखोलामा पहिरो गएकोले यातायात पूर्ण अवरुद्ध छ’ सडक विभागका सडक हेर्ने सुपरभाईजर इन्द्रसिं शेरचनले भने, ‘डोजर तयारी अवस्थामा छन्, पहिरो रोकिएपछि सफागरी सवारी सञ्चालन हुन्छ ।’