हिमाली क्षेत्रमा अत्याधिक बर्षाले म्याग्दी जिल्लामा करोडौंको क्षती भएको छ । बुधबार दिउँसो कालिगण्डकी, रघुगंगा र खहरेखोलामा एक्कासी पानीको सतह बढेपछि म्याग्दीको सदरमुकाम बेनी, गलेश्वरको तटिय क्षेत्रमा कटान गरेको छ । बेनीबजार संरक्षणका लागि लगाइएको करिव ५ करोडको तटबन्धन भत्काएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको भवन देखी जेसीज भवनसम्मको पर्खाल भत्किएको छ भने आसपासमा राखिएको दुईवटा डोजरमा समेत क्षती पुगेको छ ।तटबन्धनसंगै दुईवटा डोजर खोलामा खसेको छ । बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल भत्किएसंगै पैदलयात्रामा समेत मुस्किल भएको छ।गत आर्थिक बर्षमा करिव २ करोडको लागतमा निर्माण गरिएको कंक्रिट पर्खाल भत्किदा म्याग्दी जेसीज लगाएत आसपासका क्षेत्रमा जोखिममा परेको छ ।

आर्थिक बर्ष ०७३÷७४, ०७४÷७५ मा करिव ५ करोड खर्चिएर बनाइएको पर्खाललाई खोलाले बगाएर लगेको बेनी बजार संरक्षण समितिका कोषाध्यक्ष टंक हमालले बताए । ‘ठुलो क्षती पुगेको छ,‘तत्काल थप कटान रोक्न अस्थायी संरचना बनाउनुपर्छ’ हमालले भने । उनका अनुसार कंक्रिट वाल बनाउन पुरानो तारजाली सहितको संरचना भत्काउनु गलत भएको बताए । पर्खाल भत्काएर पैदलयात्र गर्न समेत नसक्ने गरी क्षती पुगेपछि स्थानीय चिन्तित भएका छन् । त्यस्तै बेनी नगरपालिका–वडा नं ९ गलेश्वर र रघुगंगा गाउँपालिका वडा नं ३ राम मन्दिर आसपासमा समेत कटान गरेको स्थानीय अमृतमान शेरचनले बताए ।

उनका अनुसार रघुगंगा उर्लिएर आएपछि सडक तटिय क्षेत्रमा बनाइएका संरचना बगाएको छ भने कटानले बेनीजोमसोम सडक समेत जोखिममा परेको छ । कटानले बेनीमा ल्याइएको खानेपानीको पाईपमा समेत क्षती पुगेको छ । धौलागिरी हिमाल आसपासमा परेको भिषण वर्षापछि रघुगंगा गाउँपालिको विकट कुईनेमंगलेको ध्यासीखर्कमा विद्यालयको भवन बगाएको छ भने आसपासका क्षेत्र उच्च जोखिममा परेको छ ।

उर्लिएको रघुगंगा र कालिगण्डकीले तटबन्धन भत्किएपनि पानीको सतह घट्दै गएकाले थप खतरा नभएपछि तटबन्धन भत्किएको क्षेत्रमा चर्किएको ठाउँमा थप कटानको सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यल बताए । ‘पक्की पर्खाल बनाउँदा हाम्रो सुझावलाई बेवास्ता गरियो,‘जवरजस्ती संरचना बनाउँदा क्षती पुगेको हो’ उनले भने । यसैबीच हिमाली जिल्लामा समेत बाढीले क्षती पुगेको छ । मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न स्थानमा बाढीले स्याउ, विद्यालय, सामुदायिक भवनमा क्षती पुगेको छ ।

कालिगण्डकीको कटानले बेनीजोमसोम सडक समेत धरापममा परेको छ । सडकखण्डका विभिन्न स्थानमा छियाछिया पारेकाले सडक नियमित गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । उत्तरी क्षेत्रमा रुप्से झरना समेत ह्वात्तै बढेको थियो । झरनामा बग्ने पानी समेत धौलागिरी हिमाल आसपासका क्षेत्रबाट आउने भएकाले पनि हिमाली क्षेत्रमा बर्षाकै बाढीको प्रमुख कारण मानिएको छ । रुप्से झरनाको बाहवले पुल समेत जोखिममा परेको छ ।

बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा बुधबार दिउँसो रघुगंगामा पानीको सतह २ मिटरबाट बढेर ३.५२ मिटर र कालीगण्डकी नदीमा ७.१२ मिटर पुगेको थियो । रघुगंगाको ५ मिटर र कालीगण्डकीको ७ मिटर सतर्कता तह भएकाले पनि कालिगण्डकी नदी आसपासका क्षेत्रका बस्तीमा बसोबास गर्नेलाई सचेत रहनु अनुरोध गरिएको छ। नदीमा ल्याएको ठुला रुखले समेत आसपासका क्षेत्रमा कटान गरेको छ । यसैबीच जिल्लाभर भइरहेको क्षतीको विवरण संकलन भइरहेको छ ।