अहिलेकै मोडेलमा सुरूङमार्ग र केबलकार बनाए तीन जिल्लाको पर्यटन क्षेत्र ध्वस्त हुने

0

तीन जिल्लाको पर्यटन तथा आर्थिक गतिविधिलाई ध्वस्त बनाउन चलखेल सुरू भएको छ । म्याग्दी, बागलुङ र पर्वत जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई कास्कीमै रोकेर केबलकार तथा सुरूङमार्गबाट हिमाली जिल्ला मुस्ताङसम्म पु¥याउने गरी लगानीकर्ताले नयाँ योजना अगाडी सारेका छन् ।

कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएसंगै साविकको धौलागिरी अञ्चलका तीन जिल्लाको पर्यटन क्षेत्रमा ठुलो क्षती पुग्ने भन्दै पर्यटन ब्यवसायीले चिन्ता ब्यक्त गरेका छन् ।

कास्की हुदै पर्वत, बागलुङ र म्याग्दीको क्षेत्रमा भित्रिने पर्यटकलाई सिधै पोखराबाट हाइज्याकको शैलीमा मुस्ताङ पु¥याउने योजनालाई कार्यान्वयनमा ल्याएमा तीन जिल्लाको पर्यटन सहित ब्यापारिक गतिविधि अस्तब्यस्त हुने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले बेनीअनलाइनलाई बताए । ‘पर्यटनको क्षेत्रमा नयाँ प्रयासलाई सम्मान गर्नुपर्छ,‘कास्कीबाटै पर्यटकलाई उठाउने खोजिएको छ’ आचार्यले भने ।

उनले म्याग्दीका पर्यटकीय क्षेत्रको अवलोकना लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ तर्फ जाने गरेको बताउँदै साविकको धौलागिरी अञ्चलका चारवटै जिल्लालाई सहज हुने गरी पूर्वाधार विस्तार गर्नुपर्ने बताए । लम्बाइ ८३ दशमलव ६५ किलोमिटरको केवलकारको स्टेशनमा म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको घोरेपानी,तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथसम्म ६ वटा स्टेसन रहने छ । उत्तरी म्याग्दीको पर्यटनमा राहत पुग्ने दावी गरिएको छ । कूल लागत करीब ३५ अर्ब लाग्ने केबलकारको पर्यटन ब्यवसायीले चासो देखाएका छन् ।

केबलकार संगैकास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी जोड्ने सुरूङ मार्गले चिनको तिब्वतबाट सिधा भारतको सुस्तासम्म जोड्ने बेनी–जोमसोम–कोरला नाकाको विकल्पको रुपमा सुरुङमार्गको बहस समेत सुरु भएको छ । हाल करिव ६७ किलोमिटर दुरी रहेको तिखेढुंगा–तातोपानीको दुरीलाई सुरुङमार्गले ७ किलोमिटरमा समेट्ने छ । कास्कीबाट पर्वतका केही क्षेत्रलाई समेट्दै म्याग्दीको भुरुङ तातोपानीमा पुग्ने सुरुङमार्गको खाका सार्वजनिक नभएपनि प्रदेश सरकारमा पुगिसकेको छ ।

तिखेढुंगा–भूरूङ तातोपानी सुरुङ मार्गले कास्कीको नयाँपुल, बिरेठाँटी, घान्दु्रक, उल्लेरी, फलाटे, घारेपानी, चित्रे शिख, घार, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुदै भुरुङतातोपानी जोडिन्छ । सु्रुङमार्गले म्याग्दी जिल्लाको ब्यापारिक गतिविधिमा असर गर्ने नगर्ने बारे सामाजिक विकास मन्त्री नरदेबी पुनले समेत चासो देखाएपछि अहिले यो प्रस्तावको छलफल रोकिएको छ । केबलकार र सुरुङमार्गले मुस्ताङ बाहेकका तीन जिल्लामा असर गर्ने तर्फ सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरुले समेत चासो देखाएका छन् ।