छियाछिया बेनी–जोमसोम सडक, पैदलयात्रीलाई नै सकस

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले बेनी–जोमसोम सडकखण्ड छियाछिया परेको छ । उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिरोले भदौंको अन्तिम सातामा समेत सडक नियमित सञ्चालन हुन सकेको छैन् ।

सडकखण्डका विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारी बर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएको छ । मुस्ताङ जाने पर्यटकका साथै मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकले अन्नपूर्ण गाउँपालिका ३ दानाबाट पैदलयात्रा गरी पैरोथाप्ला, कोप्चेपानी हुदै वारपार गर्नुपर्ने बाध्यता रहेको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।‘काभ्रेभीरको पहिरो पन्छाउन निकै ठुलो जोखिम मोल्नुपर्छ,‘ माथिबाट लगातार पहिरो खस्ने गरेको छ’ शेरचनले भने ।

उनले दानाबाट करिव तीन घण्टाको पैदलयात्रा गरेर मुस्ताङ जाने गरिएपनि पैदलमार्ग समेत जोखिम बनेको बताए ।मुस्ताङ्गको थासाङ गाउँपालिका–४ काभ्रेभीरमा सडक कटानले पैदल आवतजावतमा समेत समस्यालाई समाधान गर्ने सम्बन्धित निकायले चासो देखाएका छैनन् । थासाङको काभ्रेभीर,देउराली क्षेत्रमा बस्तीसंगै खेतीयोग्य जमिन समेत कटानको उच्च जोखिममा परेको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडबाट लगातार ढुंगा खस्ने गरेका छन् ।

हरेक बर्ष कालिगण्डकीले धार परिवर्तन गरिरहेको छ । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ। ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकको मर्मतमा ठुलो लागत लाग्ने अनुमान गरिएको छ । शुक्रबारसम्म गलेश्वर देखी दानासम्म अवरुद्ध सडकलाई नियमित गराउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुदाँ पर्यटन ब्यवसाय संकटमा परेका छन्