सडकमा फसेका ७५ भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत उद्धार

हिमाली जिल्ला मुस्ताङबाट फर्कने क्रममा बेनी–जोमसोम सडकखण्डका फसेका ७५ जना भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कालिगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि अन्नपूर्ण गाउँपालिका–३ दानामा अलपत्र अवस्थामा रहेका तीर्थयात्रीमध्ये बिहिबार साँझसम्म ६५ जनालाई चारवटा हेलिकप्टरमार्फत उद्धार गरिएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।

‘काभ्रेभीरमा खसेको पहिरो पन्छाउन नसक्दा तीनघण्टा पैदलयात्रा गर्नुपर्छ,‘गतबर्ष यात्रामै भारतीय पर्यटकको मृत्यु भएपछि जोखिम मोल्न चाहदैनन्’ उनले भने । शेरचनको प्रयासमा मगाइएको हेलिकप्टरले बिहिबार दिनभरी नै उद्धार गरेको थियो । म्याग्दीखण्डमा भन्दा मुस्ताङ क्षेत्रको सडकमा ब्यापक क्षती पुगेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । कलिला बालबालिका देखी बृद्धबृद्धासम्मले एकपटक मुक्तिनाथको दर्शनको योजना बनाउने भएकाले पनि हरेक बर्ष अनुकुल मौषममा दर्शका लागी आउने गरेको पर्यटन ब्यवसायीको भनाई छ ।

नेपालका लागि भारतीय दुतावासले समेत आफ्ना नागरिकलाई सुरक्षित यात्राका लागि सचेत बनाउने गरेको भन्दै तत्काल हेलिकप्टर मगाउने गरेको ब्यवसायीको भनाई छ । उनले दुईतीन दिनसम्म आवश्यकता अनुसार हेलिकप्टरको प्रयोग गर्ने गरी कम्पनीलाई जानकारी गराइएको बताए । बिहिबार दिनभरी प्रभु, एयर डाइनेष्टिक र कैलाश कम्पनीको हेलिकप्टरले भारतीय पर्यटकलाई उद्धार गरेको थियो ।सडकखण्डमा अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालय म्याग्दी र मुस्ताङको पहलमा सडकमार्गको मर्मत गरी उद्धार गरिएको छ ।

पर्यटकको सिजन सुरु भएसंगै तेस्रो मुलुकबाट समेत धमाधम पर्यटक भित्रिन थालेका छन् । गलेश्वर–तातोपानी सडकखण्डको जिम्मा लिएको शर्मा यूनाइटेड जेभीले समयमै सडक मर्मत गरेको छैन् । सडक मर्मतमा बेवास्ता गर्दा सडकखण्डका विभिन्न स्थानमा लामो समयसम्म यात्रु अलपत्र पर्ने गरेका छन् । साउन, भदौ र असोज महिनामा समेत सडकखण्डमा निकै सास्ती हुने गरेको छ । बेनीजोमसोम सडक सिधा सञ्चालनमा केही दिन लाग्ने भएकाले पनि थप पर्यटकलाई उद्धार गर्न हेलिकप्टर कम्पनीसंग सम्पर्क भइरहेको बताए ।