लोकनृत्य प्रतियोगिता वेष्ट प्वाइन्ट प्रथम

0

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । ‘सम्भावनाहरुका लागि नेतृत्व’ भन्ने मूल नारासहित म्याग्दी जेसीजको आयोजनामा सम्पन्न १५औं अन्तरमावि रनिङ कप लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्टले प्रथम स्थान हासिल गरेको हो ।

यसैगरी प्रतियोगिताबाट बेनी सामुदायिक मावि द्वितीय, लोकदीप आवासीय मावि तृतीय र बुद्ध एकेडेमी सान्त्वना भएका थिए । विजयी विद्यालयलाई क्रमशः नगद सातहजार, पाँचहजार, चारहजार, एकहजार पाँचसय रुपैयाँ, प्रमाणपत्र तथा प्रथम र द्वितीयलाई ट्रफीले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाका कुल १० ओटा विद्यालयले सहभागिता जनाएका थिए।

प्रतियोगिताको पिपुल च्वाइस अवार्ड लिटिल गार्डेन एकेडेमीले पाएको छ भने बेष्ट डान्सर अवार्ड न्यु होराईजन आवासीय माविको कक्षा १० मा अध्ययनरत छात्रा पुनम सेन्च्युरीले पाएकी छिन् । उनलाई नगद एकहजार ५० रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले लोकनृत्य प्रतियोगिताले विद्यार्थीमा आन्तरिक क्षमताको विकास गर्ने बताए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी जेसीजका पूर्वअध्यक्ष विजयकुमार श्रेष्ठ र संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । प्रतियोगिताको भूपेन बानियाँ, अग्रज लोकगायिका धनकुमारी थापा र अमृत विश्वकर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षता, महासचिव विरेन्द्र श्रेष्ठको सञ्चालन र वरिष्ठ कार्यकारी उपाध्यक्ष शैलेश श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । यसैगरी प्रतियोगी कार्यक्रमको म्याग्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष भरत रकाल, अप्रतियोगी कार्यक्रमको उपाध्यक्ष दिनेश बानियाँ र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन कार्यकारिणी उपाध्यक्ष खम थापामगरले सञ्चालन गरेका थिए । कार्यक्रममा हाँस्यव्यङ्ग्य कलाकार तथा गायक रवि कार्कीले आफ्नो प्रस्तुती र विभिन्न विद्यालयले नृत्यु प्रस्तुत गरेका थिए ।