निलगिरी जलविद्युतको स्काभेटर खोलामा खस्यो, तनहुँका कमल थापा बेपत्ता

0

उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरि खोला हाइड्रो पावरको पहुँचमार्गमा काम गरिरहेको स्काभेटर खोलामा खसेको छ।जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणमा काम गरिरहेको स्काभेटर निलगिरी खोलामा खसेर चालक बेपत्ता भएका छन्।

तनहुँ जिल्ला भिमाद घर भएका कमल थापा मगर स्काभेटर सहित खेलामा खसेको म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए । उनका अनुसार सहचालक नारच्याङका सागर पाईजा घाईते भएका छन् । उनको बेनी अस्पतालमा उपचार भइरहेको छ । निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रो पावरले ६२ र ३८ मेगावाटको आयोजनाले सडक, मजदुरलाई आवासगृह लगाएतका संरचना सुरू गरेको थियो ।

जलविद्युतमा जोखिम मोलेर काम गर्ने गरिएकाले पनि दुर्घटना हुने गरेको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पुर्जाले बेनीअनलाइनलाई बताए ।कडा चट्टानमा काम गर्नुपर्दा माथीबाट ढुंगा खसेर समेत मजदुर घाईते हुने गरेका थिए । अन्नपुर्ण बेसक्याम्पको फेदमा ड्याम राख्ने तयारी गरिएको आयोजनाले हुवाखोला देखी छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगाावाट उत्पादनको लक्ष्य राखिएको आयोजनाको काम धमाधम भइरहेको छ । नारच्याङमा मात्रै करिव १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यसअगाडी म्रिस्त्रीखोला, घलेम्दीमा समेत मजदुर दुर्घटनामा परेर ज्यान गुमाएका थिए । प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ ।