ढुंगै–ढुंगा भएको जमिनमा धान खेती गरेका बेनी नगरपालिका–९ कारीगाउँका देबेन्द्र बहादुर मल्लले कहिल्यै खेतबाट धान घर लैजान पाएनन् ।दैनिकजसो घर नजिकै रहेको खोल्साखोल्सी र उत्पादन कम हुने जग्गामा कठोर परिश्रम गरेपनि सोचेजस्तो अन्नबाली उत्पादन नभएपछि निराश भएका मल्लले धान र मकै नजिकै रहेको निलपहरा सामुदायिक बनबाट आउने बाँदरका हुलले रजाई गर्न थालेपछि बाँझै छोडे । बैदेशिक रोजगारीको सिलसिलामा ओमनमा करिव एक दशक विताएका मल्लले खेर गएको जमिनलाई सदुपयोग गर्दै चिसो माटोमा उत्पादन हुने खोले साग लगाए ।

एकबर्ष अघि गरेको परिक्षण खेती सफल भएपछि ब्यवसायीक रुपमै खोले सागको खेती सुरू गरेका मल्लले यसबर्षतीन लाख कमाउने योजना बनाएका छन् । ‘पहिलो बर्षमै मैले असी हजार कमाए,‘धान खेती छोडेर यसैमा ध्यान दिएको छु’ मल्लले भने ।श्रीमति तेजकुमारीसंगै विहानै खेतमा पुग्ने गरेका मल्लले अर्गानिक मल र परिश्रम खर्चिएरै राम्रो आम्दानी गर्न सफल भएको बताए । अर्गानिक मलको प्रयोग गरी खेतबारीमै लगाएको साग हप्तामा दुईपटक बजारमा लैजाने गरेको मल्लको भनाई छ ।

‘आम्दानीका बारेमा धेरैले विश्वास गदैनन्,‘हामीले पनि धेरै कमाई हुन्छ भन्ने सोचेका थिएनौ’ तेजकुमारीले भनिन् ।उनले करिव दुई रोपनी जमिनमा लगाएका साग हप्तामा चारपटक बजारमा लैजाने गरेको बताईन् ।‘एकपटकमा ६ हजारसम्म कमाई हुन्छ,‘दुवैजनाले भारी बोकेर विक्री गर्न जान्छौ’ उनले भनिन् । एक मुठाको ६० रुपैयाँमा बिक्री हुने गरेको बताईन् ।‘एकपटक रोपेपछि निरन्तर उत्पादन हुन्छ,‘मल र मेहनत मात्रै गरे पुग्छ’ उनले भनिन् ।

खेत आसपासमा १२ महिना चिसो हुने भएकाले मल्ल दम्पत्तीले ब्याड बनाएर धान रोपे जस्तै रोप्ने गरेका छन् । यूरिया मलको प्रयोगले छिटो उत्पादन हुने भएपनि घरमा रहेको गाईभैसीको गोठलाई खेत नजिकै सारेर पूर्ण रुपमा अर्गानिक मलको प्रयोग गर्ने गरेको मल्लले बताए । ‘एकबर्ष अगाडी खोलाबाट ल्याएको भन्दै सस्तोमा खोज्नेहरुले अहिले दैनिकजसो माग गर्छन,‘माग अनुसार पु¥याउँनै सकेका छैनौ’उनले भने ।

खोले भनेर विक्री नभएपछि सीम साग भनेर समेत बेचेको उनीहरुको अनुभव छ । गर्मी मौसममा बजारमा अन्य साग कमै देखिने भएकाले पनि बिक्रीमा कुनै समस्या नभएको उनीहरुको भनाई छ । रोपेपछि हेरचाह गर्नु नपर्ने, रोगले पनि नसताउने भएकाले पनि उत्पादनमा सजिलो हुने भएकाले थप दुई रोपनीमा विस्तार गर्ने योजना रहेको मल्लको भनाई छ । खोले सागले विभिन्न किसिमका रोग निको हुने भएकाले पनि बजारमा ग्राहकले खोसाखोस गर्ने गरेका छन् ।

‘विदेशबाट मासिक ६ हजार पठाउने मल्लले एकहप्तमै कमाउँछन्’
२०६० सालमा कमाउन कुवेत गएका मल्लले भनेजस्तो कमाउन सकेनन् । मेनवापर कम्पनीले मासिक २० हजार कमाउने आश्वासन दिएपनि उनले खर्च कटाएर घरमा ६ हजार नेपाली रुपैयाँ पठाउने गरेका थिए ।घरायसी खर्च चलाउनै मुस्किल भएपछि बैदेशिक रोजगारी रोजेका मल्लले करिव ९ बर्षसम्म ओमनमै विताए विदेशमा पैसा फल्छ भनेर सुन्दर सपना बनाउन जोखिम मोलेर काम गरेपनि अपेक्षा गरे अनुसारको कमाई नभएपछि घर फर्किए ।

‘खर्च कटाएर उहाँले पठाउने गरेको पैसा अहिले एक हप्तामै कमाई हुन्छ,‘मैले गाउँघरमै मेहनत गरौंला भनेर घर फर्किन अनुरोध गरे’तेजकुमारीले भनिन् । खेतीपातीसंगै बाख्रपालन सुरु गरेर घरखर्च चलाउन सहज भएको बताईन् । खेतीपाती र बाख्रापालनसंगै अहिले खोले सागको ब्यवसायीक खेती गरेपछि बैदेशिक रोजगारमा विताएको ९ बर्ष बालुवामा पानी हालेजस्तै भएको मल्लले बताईन् । ‘उहाँलाई मैले घरमा बोलाउने निर्णय राम्रो गरेछु,‘खेर गएको जमिनमै प्रसस्तै कमाई रहेछ’उनले भनिन् । दुईबर्ष भित्र खोले साग बेचेर ३ लाखसम्म कमाउने, अन्य तरकारी खेती, बाख्रापालन समेत गर्ने योजना बनाएको बताइन् । गाउँघरमा खेर गएको जमिनमा खोले साग हुने सम्भावना भएमा भाडामा लिएर समेत खेती गर्ने तयारीमा रहेका मल्ल दम्पत्ती आम्दानीबाट दंग छन् ।