बेनीबजार संरक्षणका लागि श्रमदान अभियान

0

म्याग्दी। एक हप्ताअघि कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन पक्की पर्खाल बगाएपछि कटानको उच्च जोखिममा परेको बेनीबजार संरक्षणका लागि श्रमदान अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको अगुवाइमा कालीगण्डकीले कटान गरेको ठाउँमा तटबन्ध निर्माणका लागि श्रमदान अभियान सञ्चालन गरिएको हो । थप कटान हुन नदिन बजारवासीलाई श्रमदानमा सहभागी गराइएको बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

बेनीबजार संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समितिले तटबन्धका लागि ९५ थान तारजाली उपलब्ध गराएको छ । तटबन्ध निर्माण गर्न बजारवासीका साथै नेपाली सेना र प्रहरीले पनि सहयोग गरेका छन् । संविधान दिवसको अवसरमा मङ्गलबार कर्मचारी र विद्यार्थीले पनि ढुङ्गा ढुवानी र तारजाली भर्ने कामका लागि श्रमदान गरेका छन् ।

निर्माणाधीन अवस्थामा रहेको करीब १५० मिटरभन्दा बढी पक्की पर्खाल बगाउँदा रु चार करोडबराबरको क्षति पुग्नुका साथै जिल्ला सदरमुकाम बेनीबजार कटानको जोखिममा परेको छ । कमसल निर्माण सामग्रीको प्रयोग, गलत डिजाइन र ढिलासुस्तीका कारण निर्माणाधीन पर्खाल भत्किएकाले छानबिन गर्नुपर्ने बजारवासीको माग रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

तत्कालीन जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङमार्फत सञ्चालित बेनीबजार संरक्षण योजनाअन्र्तगत कालीगण्डकी किनारमा ३८० मिटर पक्की पर्खाल निर्माण गर्न खड्काकृष्ण जेभीले रु पाँच करोड आठ लाख ३२ हजारमा ठेक्का सम्झौता गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले निर्माणाधीन पर्खाल भत्किनुको कारण पत्ता लगाउन सिँचाइ विकास तथा जलाधार संरक्षण कार्यालयलाई अध्ययनको निर्देशन दिएको छ । थप क्षति हुन नदिन आवश्यक संरक्षणको काम शुरु गरेको बेनी नगरपालिकाले दीर्घकालीन योजनाका लागि पहल गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । रासस