बेनी नगरपालिकाको एकिकृत सहरी विकास योजना तयार पारिने भएको छ ।शहरी विकास तथा भवन बिभागको प्राबिधिक सहयोगमा नगर क्षेत्रको एकिकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्नका लागि भएको कार्यक्रम पछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकिकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको बेनी नगरपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले बताए ।

उनका अनुसार ईञ्जिनियर बिमल रञ्जन कार्की सदस्य सचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल लगायत दस वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन् ।योजनामा नगरपालिका क्षेत्रका हालको सडक,खानेपानी, ढल निकास, भवन लगायत पूर्वाधारको बस्तु अवस्था र आवश्यकताहरु समावेश गरिने भएको छ।

नगरपालिकाका दश वटा वडालाई चार वटा समूहमा बिभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडा स्तरबाट सुझाव संकलन गरिने छ । नगरपालिका भित्र रहेका सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी १५ बर्षिय गुरूयोजना बनाउने तथा हरेक वडाभित्रका सम्भावनालाई समेत समेटेर गुरूयोजना बनाउने बताए ।

विगतमा बिना योजना बजेट विनियोजन गर्दा सदुपयोग नभएको गुनासो आउने गरेको अवस्थामा नगरपालिका भित्रका सम्रग क्षेत्रलाई समेटेर तयार गरिने गुरूयोजनाले बजेटको सदुपयोग हुने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार अल्पकालिन, मध्य र दिर्घकालिन गुरूयोजनालाई आधार बनाएर नगरपालिकाले काम गर्ने बताए । गुरूयोजना बनाउन बेनपा ९ र १० मा असोज ३ गते, १,२ र ३ को ४ गते भकुण्डेमा, ४ र ५ को ६ गते, ६, ७ र ८ को ५ गते सरोकारवालाहरुसंग छलफल गरी सुझाव संकलन गर्ने कार्यतालीका तयार पारिएको छ ।