बेनीबाट गएका विद्यार्थीले रितुङ माविमा अस्थाई टहरा निर्माण (फोटो फिचर) 

0
252

रघुगंगा नदीमा आएको बाढीले क्षती पुगेको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नदी कटानले विद्यालयको भबन बगाएपछि अवरुद्ध भएको पठनपाठन सुचारु गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् ।

जिल्लाको विकटमा रहेको विद्यालयमा सरकारी राहत तथा पूर्वाधारमा आर्थिक सहयोग अगाडीनै विद्यार्थीले जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता प्रकाश पौडेलले बेनीअनलाइनलाई बताए।उनका अनुसार १५ जना विद्यार्थी, स्थानीयबासी र युवा क्लबका पदाधीकारीहरुले बुधबार संबिधान दिवसको अवसरमा श्रमदान गरेर अस्थाई कक्षा कोठा भवन निर्माण गरेका हुन् ।

भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रितुङ माविको तिन वटा भवनको सात वटा कक्षा कोठा र शौचालय बगाएको थियो । भवन बगाएपछि दुई हप्ताका लागि बन्द भएको पठनपाठन सूचारु गराउन अस्थाई टहरा निर्माण गरिएको हो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् । भवन बगाएपछि र थप कटानको जोखिमले विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीको टोलीले अस्थायी संरचना बनाएपछि अभिभावकले समेत धन्यवाद दिएका छन् । यसैबीच बाढी र पहिरो प्रभावित दुलेखर्क, खरिबोट, घ्याँसीखर्क, दुवाडी क्षेत्रको स्थलगत अनुगमन र स्थानीयबासीहरुको समस्याको बारेमा जानकारी लिन प्रदेश सांसद बिनोद केसीको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । सांसद केसी, जिसस प्रमुख देवेन्द्र केसी, वडा अध्यक्ष गमान छन्त्यालको टाली जिल्ला विपद् ब्यवस्थापन समितिको राहत सहित कुईनेमंगलतर्फ गएको हो । नदी कटानको जोखिम कायमै रहेको बताइएको छ ।