लोकतान्त्रिक देश नेपालमा कुनै पनि नाममा महिलामाथि हिंसा हुनु मुलुकका लागि कलंकित र अन्यन्तै लाजमर्दो भएको म्याग्दीमा महिलाले बताएका छन्। सहर देखी गाउँसम्मका बालबालिका देखी बृद्धा जवरजस्ती करणी तथा हिंसाजन्य गतिविधिको शिकार हुनुपरेको बताउँदै नेपाल महिला संघ म्याग्दीले देशभरी भइरहेको बलात्कारका घटनामा संलग्नलाई २४ घण्टा भित्र कानुनी दायरमा ल्याउन माग गरेको छ ।

बषौंदेखी समानता र अधिकारका लागी आन्दोलनरत महिलाले दैनिकजसो कलिलै बालबालिका बलात्कारमा परेको घटना सुन्नु परेको बताउँदै बलात्कारीलाई कडा कानुको माग गदैं आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानार्कषण पत्र पठाएका छन् ।महिला संघ म्याग्दीकी सभापति बिमला गौचनले दुधे बालिका मानवरुपी राक्षसको शिकार हुनुले ३ करोड नेपालीलाई स्तब्ध बनाएको बताईन् ।‘बलात्कारका घटनाले आफ्नै घरभित्र महिला असुरक्षित भएको महसुस गदैंछन्,‘बलात्कारजन्य गतिविधि रोक्ने कडा कानुन नै बनेको छैन’ उनले भनिन् ।

कन्चनपूरकी निर्मला पन्तको बलात्कारमा संलग्नलाई प्रहरी प्रशासनबाटै संरक्षण गरिदाँ देशभरका बलात्कारीलाई सम्मान मिलेको महसुस महिलाले गरेको बताइएको थियो । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याललाई ज्ञापन पत्र बुझाउँदै म्याग्दीका महिलाले जिल्लामा घटेका महिला हिंसा सम्बन्ध घटनामा संलग्नलाई कारवाहीमा समेत चासो देखाउन माग गरेका थिए ।

पछिल्ला समय बलात्कारका घटनाको सूची बनाएर प्रधानमन्त्रीलाई पठाइएको संघकी सचिव सृजना श्रेष्ठले बताईन् । उनले घटनामा संलग्नलाई सरकारले निस्पक्ष छानविन सहित दोषीलाई कारवाहीको नगरे सशक्त आन्दोलन गर्ने बताईन् । अपराधपछि हुने अनुसन्धानलाई नै फितलो बनाई पीडितलाई हतोत्साही बनाउने प्रकृयाले अपराध न्यूनिकरण नहुने बताउँदै पीडकलाई कारवाहीको दायरमा ल्याउन सकेमा मात्रै सुरक्षित समाजको सन्देश प्रवाह हुने महिलाको भनाई थियो ।