बेनी सामुदायिक माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययरत १४ बर्षिया सुमित्रा पुनले राम्रोसंग लेख्न सक्दिनन् ।दुवै हातका औलाका कापा कुहिन थालेपछि सहकर्मीको सहयोगमा लेख्छिन् । दुवै हातमा उनले दैनिकजसो हातको घाउमा मलम लगाएर विद्यालयमा पुग्छिन् ।थकिद मुद्रामा टोलाइरहेकी पुनको समस्या कक्षामा रहेका अन्य विद्यार्थीलाई थाहा छैन् । उनले आफ्नो समस्यालाई सकेसम्म लुकाउँछिन् ।बेनीको मंगलाघाटमा एक ब्यक्तिको घरमा मजदुरी गरेर विद्यालयमा पढ्ने गरेकी सुमित्राले विद्यालयमा आउने बाहेक पढाईमा कुनै समय दिन पाउँदैनन्।

रोजगारीको सिलसिलामा १४ बर्ष अगाडी भारतमा गएका बेनी नगरपालिका–३ भकिम्ली डोलेका बीर बहादुर परिवारबाटै सम्पर्कविहिन भएको केहीबर्षमा आमाले अर्को विवाह गरेपछि कलिलै उमेरमा दुई छाक तातो भात पेटमा पार्नका लागि कठोर बालश्रम गरिरहेकी छन् ।आमा–बुबाको काखमै दिन विताउने उमेरमा अर्काको घरमा खाना पकाउने, भाँडा माझ्ने, घर सफा,लुगा धुनु जस्ता घरायसी काम गर्नुपर्ने बाध्यता रहेको उनले बताईन् ।‘विहानै देखी काम गर्नुपर्छ,‘पढ्ने लेख्ने फुर्सद छैन’सुमित्राले भनिन् ।चारजनाको परिवारको सम्पूर्ण काम गर्दा आधा घण्टा पनि पढ्ने समय नपाउने उनले बताईन् ।

बुबाको अनुहार समेत नदेखेकी सुमित्राले घर मालिकले ओच्छानबाटै दैनिकजसो दिसापिसाव सोर्नुपर्छ ।‘धेरै काम गर्नुपर्ने दिनम स्कुलमा आउन पाउँदैनन्,‘शनिबार त फुर्सद नै हुदैन्’ उनले भनिन् ।घरमा धेरै काम भएमा विद्यालयमा लुकेर आउने गरेको बताउँदै नयाँ लुगा, जुत्ता र चप्पल माग्दा समेत हप्काउने गरेको बताईन् । ‘खाना खाने पैसा माग्दा चिउरा दिनुहुन्छ,‘रित्तै आउँदा साथीको खाजा खाएर पेट पाल्छु’ सुमित्राले भनिन् ।

दैनिक विहान ६ बजे देखी साढे ९ बजेसम्म काम गरेर विद्यालयमा पुग्ने सुमित्रा शिक्षककै अगाडी विरामीको बाहनामा बेन्चमै सुत्ने गरेकी छन् । बुबाआमाले छोडेपछि आफन्तको सहयोगमा बाल मजदुरको रुपमा काम गरेकी सुमित्राले धेरै पढ्ने चाहना बुबाआमाको कारण पुरा नभएको बताईन् । सदन अनुसारको पोशाक तथा खाजा खर्चको अभावमा भोकै कक्षा कोठामा बस्ने गरेको बताउँदै नयाँ लुगा माग्दा मुखभरीको बचन सुन्नु परेकाले फाटेको लुगा लगाएर विद्यालयमा आउने गरेको बताईन् ।

काम राम्रो संग नगरेको भन्दै कुटपिट समेत गर्ने गरेको गुनासो उनको छ । ‘आफ्नो गल्ती लुकाउन मेरो बारेमा नहुने कुरा लगाउनुहुन्छ,‘त्यो घरमा बस्ने चाहना छैन’ उनले भनिन् । छिमेकीले समेत आफ्नो समस्याका बारेमा जानकारी पाएपछि खुलेर सहयोग नगर्ने गरेको उनको भनाई छ । आफ्नो समस्याका बारेमा कक्षामा संगै बस्ने स्मृति बानियाँलाई सुनाएपछि उनले शिक्षकलाई रुदै जानकारी गराईन् । हातखुट्टाको घाउलाई सामाजिक शिक्षक राजेन्द्र क्षेत्रीलाई देखाएपछि प्रधानध्यापक दिपक श्रेष्ठलाई जानकारी गराएका थिए ।

’धेरै काम गर्ने भएर लेख्नै सक्दिनन्,‘उनको काम सुनेर विद्यार्थीको आँखा रसाए‘ उनले भने ।विद्यालयभित्रको पढाईमा भन्दा पनि विहानबेलुकी काम गर्नुपर्ने भएकाले पढाईमा समय दिन नसकेको प्रअ श्रेष्ठको भनाई छ ।‘पढाईमा प्रयाप्त समय नदिएकै कारण कक्षा दोहोराउनुप¥यो,‘आर्थिक सहयोग भएमा उनले पढाईमा राम्रो गर्न सक्छिन्’ उनले भने।पढाईमा अब्बल रहेका विद्यार्थीसंगै संगत रहेपनि विद्यालयमा आउँदा र घरमा गएपछि रातीसम्म काम गर्नुपर्ने बाध्यताले पढाईमा कमजोर भएको बताए ।

बालबालिका भविष्यका कर्णधार भएपनि गरिबी र विपन्नताका कारण सुमित्रा फुल्न नपाउँदै ओइलाउने गरेको उदाहणको रुपमा सुमित्रालाई लिन सकिने उनको भनाई छ । आफन्तले खानपान र पढाईमा समस्या उत्पन्न हुन थालेपछि बृद्धलाई रेखदेख र मासिक तलब सुविधाको आश्वासन दिएर जिम्मा लगाएपनि एकसरे लुगा र घरको माथिल्लो तलामा रहेको टिनको छानामुनी रात विताउनुपरेको छ । जिल्लामा दुई छाक टार्नै समस्या भएपछि अभिभावबाट समेत अलपत्र परेका बालबालिकाले राम्रो खानपिनका साथै नियमित विद्यालय जान नपाएपछि अर्काको घरमा बसेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।

चरम बालश्रम शोषणमा परेका बालबालिकाको घटना सार्वजनिक हुनै मुस्किल हुने गरेकाले पनि सहर बजार देखी ग्रामिण क्षेत्रसम्म चरम बालश्रम शोषण हुने गरेको छ । होटल चियापसल, खाजा पसल, ग्यारेज, पसल, कलकारखाना, नीजि घरमा अबैध रुपमा काम गर्ने गरेका छन् । गत भदौं ६ गते बेनपा–६ की एक बालिकाले गरिबीका कारण विद्यालय आउन नसक्ने मार्मिक पत्र प्रधानध्यापकलाई लेखेकी थिईन् । उनको समाचार राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म चर्चा कमाएको थियो ।

सहयोगका लागि बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठलाई ९८५६७४०४०० मा सम्पर्क गर्नुहोला ।