ज्यानलाई हत्केलामा राखेर मध्यरातसम्म यात्रुको उद्धार

मुस्ताङमा सम्पन्न थाक खेलकुद प्रतियोगितामा सहभागी भएर फर्किएका यूवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा सहितको टोलीलाई इन्द्रसिंह शेरचनले पहिरोले अवरुद्ध बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत काभ्रेभीरमा जोखिम मोलेर पार गराए । पैदलमार्गबाट मुस्ताङ पुगेका विश्वकर्मा सहितको टोलीलाई शेरचनले पालैपालो पहिरोबाट सुरक्षित साथ गन्तब्य तर्फ ल्याए ।

केहीदिन अगाडी मुक्तिनाथ मन्दिरको दर्शनबाट फर्किएका करिव दुईसय तिर्थयात्रीलाई दिनभरी बोकेरै भीरबाट ल्याए ।बालबालिका देखी बृद्धबृद्धासम्मलाई सडक अवरुद्ध भएपछि शेरचनले आफ्नो होटल ब्यवसायलाई समेत छोडेर विहानै देखी मध्यरातसम्म यात्रुको सेवामा खटिन्छन् ।आङ सिरिङ हुने कहालीलाग्दो भीरमा यात्रुलाई बोकेरै सुरक्षित गन्तब्यतर्फ पु¥याउने गरेका शेरचनले यात्रुको आर्शिरवाद बाहेक केही लिदैनन् ।

‘दैनिक २ सयसम्म यात्रुलाई वारपार गरेको छुु,‘आफ्नै ज्यान जोगाउन पनि मुस्किल हुन्छ’ शेरचनले भने । उनले विहान ४ बजे देखी राती ११ बजेसम्म यात्रुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ् गाउँपालिका–४ को सिमानमा पर्ने काभ्रेभीरमा हातमा लौरो र लाइट लिएर यात्रुलाई कुर्ने गरेका छन् ।

‘समयमै खानपिन गर्न पाएको छैन्,‘यात्रुको समस्याले खाना पनि रुच्दैन्’शेरचनले भने ।उनका अनुसार सडक अवरुद्ध हुदाँ तिर्थयात्रीका साथै पर्यटकबाट गलत सन्देश प्रवाह हुनसक्ने भएकाले पनि जोखिम मोलेर यात्रुलाई सुरक्षित गन्तब्य तर्फ पठाउन सक्रिय भएको बताए ।‘एउटा पर्यटकले फैलाएको गलत सन्देशले पर्यटन ब्यवसायमा ठुलो असर पर्छ,‘पर्यटकको सुरक्षाका लागी सरकारी निकायबाट त्यती चासो देखाएको देखिएको छैन’ शेरचनले भने ।

अग्लो पहराहरूबाट खसेको ढुंगाले समेत चोट लागेर गतबर्ष भारतीय सहित तेस्रो मुलुकका पर्यटकको ज्यान जानुका साथै घाईते भएकाले पनि काभ्रेभीरलाई पर्यटकले जोखिमपूर्ण मार्गको रुपमा चिन्ने गरेको बताए । उनले तीनसातामा करिव १५ सय यात्रुलाई पहिरोस्थलबाट वारपार गरेको बताए । शेरचनको खुट्टा चिप्लिएर घाउ भएको छ भने केही भाग सुनिएको छ । भारतीय दुतावासबाट समेत आफ्ना नागरिकलाईयात्राको क्रममा जोखिमपूर्ण ठाउँका बारेमा जानकारी गराएर पठाएकाले भविस्यमा पनि यात्राको वातावरण बनाउन एक्लै सक्रिय हुनपरेको बताए ।

उनले यात्राको क्रममा हिड्न नसक्ने तीर्थयात्रीको हेलिकप्टरमार्फत समेत उद्धार गरिएको बताए ।मुक्तिनाथ मन्दिरको भ्रमणमा आउने भारतीयको संख्या अत्याधिक बढेपनि कालिगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध हुदाँ एकमहिना यता यात्रुले निकै ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।गुनासो सुन्ने सरकारी निकायले बेवास्ता गरेको गुनासो समेत पर्यटकले सुनाउने गरेका छन् । पैदलयात्राकै क्रममा बिरामी भएकालाईएम्बुलेन्स सहितको उद्धार साम्रागीको अभाव भएपछि हेलिकप्टर मगाइएर समेत पोखरासम्म पठाउनुपरेको उद्धारमा खटिएकाको भनाई छ ।

‘पर्यटकले जोखिम मोल्न चाहदैनन्,‘उद्धारमा बाध्य भएर स्थानीयकै सहयोग आवश्यक पर्छ’ शर्मा गजुरमुखीका राजन न्यौपानेले भने । उनका अनुसार उद्धारको क्रममा साना ढुंगाले खुट्टामा च्याप्दा समेत यात्रुको सुरक्षामा तल्लिन रहेको बताए । अवरुद्ध सडकको अवलोकन गर्न पुगेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनले पर्यटकलाई उद्धारमा शेरचनले खेलेको भूमिकाको उच्च मुल्याङ्कन गरिएको बताएका थिए ।

‘मेरै अगाडी उहाँले धेरैलाई उद्धार गर्नुभएको छ,‘प्रतिकुल मौषममा समेत उद्धारमा खटिनु मानवीय सहयोगको सुन्दर पक्ष हो’ अध्यक्ष पुनले भने । उनले उत्तरी म्याग्दीमा भित्रिने पर्यटकलाई सहज आवतजावतको वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । ७६ किलोमिटर दुरी रहेको सडकखण्डको स्तरउन्तीको क्रममा जथाभावी ढुंगामाटो नदीमा फाल्दा नदीको धार परिवर्तन गरेपछि ब्यापक क्षती पुगेको थियो भने कडा चट्टामा माथिबाट पहिरो खस्दा सडक ध्वस्त हुदाँ भदौ महिना देखिनै सिधा यातायात बन्द भएको थियो ।